संसद पुर्नस्थापना र मिचिएको संविधान ट्रयाकमा ल्याएर छोडिन्छ : अध्यक्ष ओली

-



     सफल आवाज    
     मंसिर २७ गते २०८२ मा प्रकाशित



भक्तपुर, २७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले प्रतिनिधिसभाको पुर्नस्थापना गरेरै छाड्ने र ताजा जनादेशबाट नयाँ प्रतिनिधि सभा निर्माणको बाटोमा जानु पर्ने एमालेको संकल्प रहेको बताएका छन् ।

शनिबार भक्तपुरको सल्लाघारीमा आयोजना गरिएको ११ औं महाधिवेशको उद्घाटन सत्रलाई संवोधन गर्दै ओलिले प्रतिनिधि सभा पुर्नस्थापना, संवैधानिक सरकार गठन र ताजा जनादेशबाट नयाँ प्रतिनिधि सभा निर्माणको बाटो नै उत्तम विकल्प भएको बताए ।

अध्यक्ष ओलीले भने, सरकार अहिले जालझेल र प्रतिशोधको बाटोमा गएको छ । एकातिर निवर्नचनको हल्ला गर्ने र अर्कोतिर निर्वाचन विथोल्ने काम गरिरहेको छ ।

सरकारले जेसिन्जसंग सम्झौताको नाटक मञ्चन गरेको छ । त्यो विल्कुल नाटक हो र अनाधिकृत हर्कत पनि हो । यो देशलाई गम्भिर दुर्घटना र भिडन्ततर्फ लैजाने गम्भिर षडयन्त्र हो अध्यक्ष ओलिले भने ।

सरकारले नाटक मञ्चन गरेर लोकतन्त्रलाई रोक्ने वातावरण सिर्जना गरेको छ । अनेक प्रपञ्च गरेर जालो बुनिरहेको छ । यो स्थितिलाई तोडेर संविधानलाई लिकमा फर्काउनु पर्नेछ उनले भने ।

सुरक्षित नेपालको पहिलो सर्त हामी हामीबिचको एकता भएको जोड दिदै ओलिले समारोहमा जम्मा भएको एमालेको जनसागर एक थोपा मात्रै हो भने ।

यो प्रतिगमन विरुद्धको आन्दोलन हो । एमालेलाई होच्याउने काम कसैले गल्तिले पनि नगर्नुस् । यहाँ आएको भिड होईन देश र लोकतन्त्रको विकासको अभियानको हो ।

एमालेलाई समाप्त पार्ने इच्छा कसैमा छ भने मनबाट हटाए हुन्छ । अध्यक्ष ओलिले भने, देशलाई लोकतान्त्रिक बाटोमा फर्काएर ल्याएर छोडिन्छ । संसद पुर्नस्थापना गराएर छोडिन्छ र मिचिएको संविधान ट्रयाकमा ल्याएर छोडिन्छ, यो एमालेको संकल्प हो ।