प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ: सांसद हर्क साम्पाङ

-



     सफल आवाज    
     जेठ १ गते २०८३ मा प्रकाशित



काठमाडौं, १ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै नैतिकताका आधारमा तत्काल राजीनामा दिन माग गर्नुभएको छ ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्रीले संसदीय मर्यादा र लोकतान्त्रिक मूल्य मान्यताको धज्जी उडाएको आरोप लगाउनुभएको हो । विज्ञप्तिमा प्रधानमन्त्रीको राजीनामा माग्नुका मुख्य चार कारणहरु प्रस्तुत गरिएको छ:

विज्ञप्तिमा उल्लेखित मुख्य बुँदाहरू:

  • संसदीय मर्यादाको उल्लंघन: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री सभाबाट बाहिरिनु र कार्यक्रम नसकिँदै नफर्कनुलाई साम्पाङले गम्भीर अपमानका रूपमा लिनुभएको छ ।
  • संसदप्रति अनुत्तरदायी: नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रतिपक्षले प्रधानमन्त्रीको उपस्थिति माग गर्दा समेत अनुपस्थित रहेको र आफ्नै कार्यकक्षबाट संसदीय गतिविधि ‘लाइभ’ हेरेर बस्नु गैरजिम्मेवारीको पराकाष्ठा भएको विज्ञप्तिमा उल्लेख छ ।
  • प्रश्नबाट भागेको आरोप: संसदमा उठेका प्रश्नहरूको जवाफ दिनु प्रधानमन्त्रीको कर्तव्य भए पनि बिना कुनै कारण अनुपस्थित भएर संसदीय परम्पराको बेवास्ता गरिएको साम्पाङको दाबी छ ।
  • जनताको अपमान: हालसम्म संसदको कुनै पनि बैठकमा जनतालाई सम्बोधन नगर्नुले प्रधानमन्त्रीले संसद र आम नेपाली जनताको अपमान गरेको विज्ञप्तिमा जनाइएको छ ।

“संसदीय इतिहासमा कालो धब्बा”

अध्यक्ष साम्पाङले प्रधानमन्त्रीको यस्तो व्यवहारले संसदीय अभ्यासको इतिहासमा ‘कालो धब्बा’ लगाएको टिप्पणी गर्नुभएको छ । “संसदमा मर्यादा र स्थिति बसाल्न नसक्ने प्रधानमन्त्री अक्षम र असफल भएको देखिन्छ,” विज्ञप्तिमा भनिएको छ, “आफ्नो धरातल बिर्सिएर लुकेर बस्ने प्रवृत्तिले कस्तो नजिर बसाउँछ? कर्तव्य पूरा नगर्नेले पदमा बसिरहनु उचित हुँदैन ।”

उनले प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्दा नै लोकतन्त्र र जनताको सम्मान हुने उल्लेख गर्दै सीमा रक्षा गर्न नसकेको र गरिब जनतालाई राहत दिनुको साटो आतंकित बनाएको भन्दै सरकारको कडा आलोचना गर्नुभएको छ । अध्यादेशमार्फत सरकार चलाउन खोज्नुले संसदको औचित्यमाथि नै प्रश्न उठाएको समेत साम्पाङले बताउनुभएको छ ।