जीवाश्म इन्धनको विवादले जलवायु वार्ता निष्कर्षविहीन

-



     सफल आवाज    
     मंसिर ७ गते २०८३ मा प्रकाशित



अन्ताल्या, ७ मङ्सिर । जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा सहमति जुट्न नसक्दा टर्कीमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) साझा निष्कर्षविहीन बनेको छ । सम्मेलनको अन्तिम दस्तावेजमा कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनको उल्लेख गर्ने कि नगर्ने भन्ने विवादले वार्ता टुङ्गोमा पुग्न सकेन ।

वार्षिक जलवायु सम्मेलनले जलवायु परिवर्तनविरुद्ध मुलुकहरूले चाल्नुपर्ने कदम समेटिएको ‘कभर डिसिजन’ नामक साझा दस्तावेज जारी गर्ने प्रयास गरेको थियो । तर, टर्कीले प्रस्तुत गरेको मस्यौदामा जीवाश्म इन्धनसम्बन्धी स्पष्ट प्रतिबद्धता नसमेटिएपछि धेरै देशले त्यसप्रति असन्तुष्टि जनाए ।

आयरल्यान्डका जलवायु, ऊर्जा तथा वातावरणमन्त्री डाराग ओ’ब्रायनले युरोपेली सङ्घ (इयु) का २७ सदस्य राष्ट्रका तर्फबाट बोल्दै प्रस्तावित दस्तावेजले जलवायु परिवर्तन सामना गर्न आवश्यक कार्य र महत्वाकांक्षा समेट्न नसकेको बताउनुभयो । जीवाश्म इन्धनको उल्लेखबिनाको जलवायुसम्बन्धी निर्णय स्वीकार गर्न नसकिने उहाँको भनाइ थियो ।

पानामाकी प्रमुख जलवायु वार्ताकार एना एगुइलारले विज्ञान र वास्तविकताले माग गरेको कदम चाल्नुको सट्टा पुराना प्रतिबद्धता दोहोर्‍याउने काम भएको टिप्पणी गर्नुभयो । कार्बन कब्जा तथा भण्डारण प्रविधिमा अत्यधिक निर्भर रहेको र यसअघि भएका सहमतिका भाषासमेत कमजोर बनाइएको उहाँको भनाइ थियो । उहाँले यसलाई जलवायु न्यायको विषयसमेत बताउनुभयो ।