
लमजुङ, ६ कात्तिक । लमजुङको बेँसीशहर नगरपालिका–३ मा अवस्थित लमजुङ कालिका मन्दिरमा महाकालीको मूर्ति स्थापना गरिएको छ । यस मन्दिरमा श्रदालु तथा भक्तजनले पूजा गर्ने क्रममा देखिनेखालको मूर्ति नभएको गुनासो गरेसँगै मन्दिरमा देखिने खालको ठूलो मूर्ति स्थापना गरिएको हो ।
घटस्थापनाको दिनमा काठमाडौँबाट मूर्ति ल्याएर स्थापना गर्नुअघि गर्नुपर्ने विधिवत प्रक्रिया पूरा गरेपछि शुभसाइत हेरेर बुधबार बिहान ११ बजेको समयमा विधिवतरूपमा पूजा आराधना गर्दै मूर्ति स्थापना गरिएको छ । मूर्ति स्थापना गर्नुअघि मूर्तिलाई शक्ति दिनका लागि विभिन्न प्रक्रिया पूरा गरेर स्थापना गरिएको मन्दिरका मूल पुरोहित माधवप्रसाद बरालले बताए । उनका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापा र लमजुङ समाज काठमाडौँको विशेष सहयोगमा मूर्ति ल्याइएको थियो ।
मूर्ति स्थापना कार्यक्रममा बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले यस्ता ऐतिहासिक तथा धार्मिकस्थलको संरक्षण, प्रवद्र्धन र व्यवस्थित गर्ने कार्यमा नगरपालिकाबाट सक्दो सहयोग हुँदै आएको र थप सहयोगका लागि प्रदेश तथा सङ्घीय सरकारसँग पहल गर्ने बताए । सशस्त्र प्रहरीका पूर्वएआइजी रोहितचन्द्र थापाले ऐतिहासिक तथा धार्मिक स्थलहरुलाई व्यवस्थित गर्दै लैजानुपर्ने बताउँदै यहाँको आवश्यकता अनुरुप योजना निर्माणका लागि सम्बन्धित निकायमा बजेट माग गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, बेँसीशहर नगरपालिका उपप्रमुख लक्ष्मी अधिकारी, जनप्रतिनिधि, स्थानीयवासीलगायतको उपस्थिति थियो । मूर्ति स्थापनापश्चात् जिल्लावासी भक्तजन खुशी भएका छन् । यहाँ भक्तजनलाई स्थापना गरिएको महाकाली मूर्तिले पूजाआज गर्नका लागि सहज हुने भएको छ । लमजुङ दरबार परिसरमा कालिका मन्दिर छ । विसं १५५० मा छिमेकी जिल्ला कास्कीकोटका राजा कुलमण्डलका छोरा यश्ह्योबर्मा शाहलाई राजा बनाएदेखि यस मन्दिरमा पूजाआजा हुँदै आएको मन्दिरका मूल पुरोहित बरालको भनाइ छ ।
इतिहासमा उल्लेख भएअनुसार यस कालिका मन्दिरलाई शाहवंशीय राजाले आफ्ना कूलदेवताका रूपमा समेत पूजा गर्दै आएका राससले लखेकाे छ । यहाँ बाइसे सुसारे पुजारीहरु अर्थात् बाइस जातिका पुजारी यस मन्दिरमा रहेका छन् । यस कालिका तथा लमजुङ दरबार १६ रोपनी क्षेत्रफलमा फैलिएको छ ।






काठमाडाैं, १० मङ्सिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत दुई वित्तीय संस्था, एनएमबि बैंक…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका… 



