
काठमाडाैं, ६ कात्तिक । मुलुकका शक्तिपीठमा कोभिड-१९ कारण यस पटक पशुबलि निकै कम हुने भएको छ । कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी शक्तिपीठमा परम्परा धान्नबाहेक पशुबलि नहुने भएको हो । कोभिड–१९ महामारीका कारण मुलुकका अधिकांश मन्दिरमा नित्यपूजा बाहेक मन्दिरमा नजान सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
दशैँ तथा अन्य चाडबाडमा शक्तिपीठ तथा मन्दिरमा गएर पूजाअर्चना गर्ने तथा भाकलअनुसारको बलि चढाउने विभिन्न समुदायमा प्रचलन रहिआएको छ । कोभिड–१९ का कारण शक्तिपीठमा भीडभाड कम गर्ने हेतुले पशुबलि घटाइएपछि शक्तिपीठमा विकल्पमा कुभिण्डो र नरिवल चढाइने छ । काठमाडौँको हनुमान ढोका र भक्तपुरपुरमा अष्टमी र नवमीका दिन ठूलो सङ्ख्यामा हुँदै आएको पशुवली यसवर्ष परम्परा धान्नमा मात्र सीमित गरिदैँछ । हनुमानढोकाभित्रको मूलचोकमा महाअष्टमी र नवमीका दिन ५४ बोका र ५४ राँगाको बली दिने गरिन्थ्यो । दशैँमा पशुबलिको साटो कतिपय स्थानमा कुभिण्डो र घिरौँला चढाउने चलन छ ।
धर्म र संस्कृतिका नाममा महामारी फैलिन गई जनताले दुःखकष्ट भोग्न नपरोस् भन्नका लागि बिकल्पमा कुभिण्डो र नरिवल चढाइने हनुमानढोका हेरचाह अड्डाका पुरोहित देवराज अर्यालले जानकारी दिए । परम्परा र संस्कृतिका रुपमा चलिआएको तलेजुलगायत शक्तिपीठमा पशुबलिकै लागि पनि सरकारले बजेट विनियोजन गर्दै आएको छ ।
यसैबीच, नेपाली सेनाले निशान भगवतीलाई शक्तिस्वरुपाका रुपमा मान्ने हुँदा भगवती र कोतमा बाहेक यस पटक अन्यत्र पशुबलि नदिइने जनाएको छ । त्यस्ता शक्तिपीठ र अन्यस्थानमा पशुबलिको सट्टा नरिवल र कुभिण्डो चढाउने व्यवस्था गर्न लागिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए । बडादशैँका अवसरमा आ–आफ्ना घरमा स्थापना गरिएका नवदुर्गा स्थलका अतिरिक्त मुलुकका ठूला शक्तिपीठ भद्रकाली, रक्तकाली, दक्षिणकाली, मनकामना, बाग्लुङ कालिकालगायत मन्दिर परिसरमा ठूलो सङ्ख्यामा खसी, बोका, राँगा, हाँस, परेवा तथा कुखुराको बलि दिने परम्परा रहेकाे छ ।






काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ…
नारायणगढ (चितवन), १० मङ्सिर. चीनको छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानबाट प्राप्त प्राविधिक सहयोगमा हाइब्रिड धानको परीक्षण…
रूपन्देही, १० मङ्सिर. नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध…
काठमाडाैं, १० मङ्सिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत दुई वित्तीय संस्था, एनएमबि बैंक… 



