धितोपत्र बोर्ड विरुद्धको रिट हेर्न नभ्याइनेमा

-



     सफल आवाज    
     पौष १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ पुस । नेपाल धितोपत्र बोर्ड विरुद्ध सर्वोच्च अदालतमा परेको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ । उक्त मुद्दाको पेसी न्यायाधीशद्वय अनिल कुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा आज पुस १ गतेका लागि तोकिएको थियो ।
अधिवक्ता दीपकविक्रम मिश्रले गत असोज ३१ गते तत्काल नयाँ ब्रोकर,नयाँ स्टक र वस्तु विनियम बजारलाई लाइसेन्स दिने प्रक्रिया रोक्न माग गर्दै दायर गरेको उक्त रिटमा गत कात्तिक ४ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अल्पकालीन कारण देखाऊ अन्तरिम आदेश जारी गरेको थियो । रिट परेपछि हालसम्म ८ पटक उक्त मुद्दाको पेसी तोकिसकिएको छ ।

गत कात्तिक २९ गते न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले निर्णय फाइल झिकाउने आदेश गरेको थियो । तर त्यस यता तोकिएका सबै पेसी हेर्न नभ्याइने शीर्षक अन्तर्गत परेका छन् ।

धितोपत्र बोर्डले असोज २ गते नयाँ ब्रोकर,नयाँ स्टक र वस्तु विनियम बजार सञ्चालनका लागि आवेदन खुला गरेको थियो। अदालतले जारी गरेको कारण देखाऊ अल्पकालीन अन्तरिम आदेशका कारण सबै प्रक्रिया स्थगित रहेको छ ।