भारतबाट घटेर आयो ईन्धनको मूल्य, अब घट्ला त नेपालमा?

-



     सफल आवाज    
     पौष १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ पुस । भारतीय आयल कर्पोरेशन (आईओसी)ले डिजेल, पेट्रोल र हवाई इन्धनको घटेको मूल्यसूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई आज पुस १ गते (डिसेम्बर १६)मा पठाएको नयाँ मूल्यसूची अनुसार यी सबै ईन्धनको भाउ घटेको पाइएको हो ।

आज आएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेलमा १२ रुपैयाँ २१ पैसा र हवाइ इन्धनमा १० रुपैयाँ २१ पैसा घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएसँगै आईओसीले नेपालमा पनि भाउ घटाएर पठाएको बुझिएको छ ।

आजभन्दा १५ दिनअघि आएको मूल्यसूची अनुसार नै केही नाफामा गएको निगमलाई यो घटेर आएको नयाँ मूल्य सूचीले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलमा १२ रुपैयाँ नाफा दिलाएको छ । अहिले बजारमा पेट्रोलको प्रतिलिटर १८१ र डिजेलको १७२ रुपैयाँ रहेको छ । भारतबाट लगातार भाउ घटेर आए पनि विभिन्न बहाना बनाई निगमले मूल्य नघटाएको भन्दै सर्वसाधारण भने निगमसँग रुष्ट हुँदै आएका छन् ।

तर यो पटक भने मुख्य ईन्धनहरु सबैमा भाउ घटेर आएका कारण निगमले केही मात्रामा भए पनि भाउ घटाउने अपेक्षा भने गरिएको छ । तर निगमले यसबारेमा कुनै आधिकारिक धारणा वा सूचना सार्वजनिक गरेको छैन ।