ऊर्जामा लगानी जुटाउन ५ अर्बकाे ऋणपत्र बिक्री गर्दै निफ्रा

-



     सफल आवाज    
     पौष ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ पुष । नेपाल पूर्वाधार बैंक (निफ्रा)ले ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ ‘निफ्रा ऊर्जा ऋणपत्र’ बिक्री सुरु गरेको छ । ७ वर्षे अवधिका लागि वार्षिक ७ प्रतिशत ब्याज दिने शर्तमा ऋणपत्र बिक्री गर्न लागिएको हो ।

बैंकले प्रतिऋणपत्र १ हजार अङ्कित मूल्यका ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ३० लाख कित्ता ऋणपत्रले हुन आउने ३ अर्ब बराबरको ऋण पूँजी रकम व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । साथै बाँकी ४० प्रतिशत अर्थात २० लाख कित्ताले हुन आउने २ अर्ब बराबरको ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्नेछ ।

नेपाल धितोपत्र बोर्डले बैंकलाई गत कात्तिक २७ गते ऋणपत्र बिक्रीका लागि स्वीकृति दिएको थियो । बैंकले गत मङ्सिर २९ गतेदेखि ऋणपत्र बिक्री सुरु गरेको हो । ऋणपत्रको निष्काशन छिटोमा यही पुस ४ गते र ढिलोमा पुस १४ गतेसम्म बन्द हुनेछ ।

ऋणपत्रको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड छ । पूर्वाधार क्षेत्रमा लगानी गर्ने लक्ष्यका साथ स्थापना भएको सो बैंकको अधिकृत पूँजी रु ४० अर्ब छ ।