किन रोकियो भारत तर्फको बिजुली निर्यात ?

-



     सफल आवाज    
     पौष ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ पुस । नेपाल विद्युत् प्राधिकरणले भारत तर्फको बिजुली निर्यातलाइ राेकेकाे छ । नदीमा जलसतह लगातार घटेपछि प्राधिकरणले भारततर्फको बिजुली निर्यात रोकेको हाे । स्वदेशमै बिजुली आपूर्ति गर्नुपर्ने भएकाले भारतमा हुँदै आएको निर्यात रोकिएको प्राधिकरणका प्रवक्ता एवं भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिएका छन ।

प्राधिकरणले यसवर्ष कुल ११ अर्ब बराबरको बिजुली भारत निर्यात गरेको छ । गत जेठ १९ गतेदेखि भारत निर्यात सुरु गरेको प्राधिकरणले गत मङ्सिर अन्तिम सातासम्म निर्यात गरेको थियो ।

सुरुमा ३९ मेगावाटबाट निर्यात सुरु गरेको प्राधिकरणले कुल ४ सय १९ मेगावाटसम्म निर्यात गरेको थियो । भारतमा प्रतियुनिट बिजुली औसत ८ रुपैयाँ २५ पैसामा बिजुली बिक्री गरिएको थियो ।

प्राधिकरणले दैनिक बोलकबोलमार्फत् तय हुने ‘डे अहेड’ मार्केटमा बिजुली बिक्री गरेको थियो । पछिल्लो पटक कुल ४ सय १९ मेगावाट बराबरको बिजुली बिक्रीका लागि अनुमति प्राप्त भएको थियो । प्राधिकरणले थप केही आयोजनाको बिजुली बिक्रीका लागि अनुमति मागेको भए पनि लामो समयसम्म निर्णय आएको थिएन ।

नदीमा जलसतह घटेपछि आन्तरिक माग व्यवस्थापनका लागि प्राधिकरणले हाल भारतबाट ३ हजार मेगावाट घण्टा बराबरको बिजुली आयात गरेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

बिहान ३ बजेदेखि ११ बजेसम्मको माग व्यवस्थापनका लागि प्राधिकरणले बिजुली आयात गरिरहेको छ । सो समयमा माथिल्लो तामाकोशी र कालीगण्डकी ‘ए’ आयोजना बन्द गरिने गरिएको छ । प्राधिकरणका अनुसार हाल कुल माग १ हजार ५ सय १२ मेगावाट बराबर छ ।

चिसो बढेसँगै बिजुलीको माग पनि बढिरहेको छ । कोठा न्यानो बनाउन बिजुलीको प्रयोगमा वृद्धि भएपछि मागमा वृद्धि भएको हो । कुल उत्पादित बिजुलीमध्ये प्राधिकरणका आयोजनाबाट ७ हजार ८ सय ७४ मेगावाट घण्टा, सहायक कम्पनीका आयोजनाबाट ४ हजार ४ सय ४३ मेगावाट घण्टा उत्पादन भएको छ ।

त्यस्तै निजी क्षेत्रका आयोजनाबाट १२ हजार ७ सय ४० मेगावाट घण्टा बिजुली उपलब्ध छ । यसबाहेक विभिन्न स्थानमा भएको अवरोधका कारण २ सय ३३ मेगावाट घण्टा प्रणालीभन्दा बाहिर छ । मुलुकभित्रको कुल जडित क्षमता २ हजार २ सय ५० मेगावाट बराबर छ । चालु आवको अन्त्यसम्म प्रणालीमा थप ८ सय मेगावाट बराबरको बिजुली थप हुनेछ ।

प्राधिकरणको माग अनुसारको अनुमति नपाएपछि वर्षायाममा केही बिजुली खेर गएको थियो । चालु आवमा थप हुने बिजुलीको भारत निर्यातका लागि वा आन्तरिक खपतका लागि आवश्यक व्यवस्था गर्न नसकिए प्राधिकरणलाई ठूलो घाटा हुने अवस्था पनि उत्तिकै छ । तर हिउँद लागेपछि नदीमा जलसतह ओरोलो लाग्दा अपेक्षित क्षमता अनुसारको बिजुली उत्पादन हुन सक्दैन ।

यद्यपि चालु आवको ३ महिनामा मात्रै प्राधिकरणले ८ अर्ब ५० करोड बराबरको नाफा कमाएको छ । यस्तै २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकलाई ३० रुपैयाँमात्रै महसुल तिर्दा हुने व्यवस्था गरिएको छ । त्यसबाट पनि प्राधिकरणले उपभोक्तालाई वार्षिक २० अर्ब बराबरको राहत दिएको दावी गरेको छ ।

आन्तरिक रुपमा नै बिजुलीको खपत बढाउनका लागि पहल भए पनि पछिल्ला दिनमा औद्योगिक क्षेत्रमा बिजुलीको माग घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव तथा उपभोक्ता मुद्रास्फीति बढेकाले उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । जसको प्रभाव पनि बिजुलीको खपतमा परेको छ ।