नागरिकको उपचार गर्नु सरकारको अनिवार्य दायित्व होः पूर्वअध्यक्ष रेग्मी

-



     सफल आवाज    
     कार्तिक ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, ८ कात्तिक । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नागरिकको उपचार जिम्मा सरकारले लिनु अनिवार्य दायित्वको भएकाे बताएका छन् । काेभिड–१९ ले आक्रान्त पारेको अहिलेकाे असहज परिस्थितिमा संयमित र संवेदनशील भई आफ्नै घरपरिवारमै बसेर दशैं मनाउन सबैमा आह्वान गरेका छन् ।

बडादशैंकाे अवसरमा आज दिएको सन्देशमा उनले आफ्नै घरपरिवारमा बसी दशैं मनाउन तथा आफू सुरक्षित हुन र अरूलाई पनि सुरक्षित हुन दिन आग्रह गरेका छन्। नवदुर्गा भवानीले कोरोना महामारीसँग लड्न आत्मबल र सक्षमता प्रदान गरून् भनी उनले कामना पनि गरेका छन् ।

जस्तोसुकै अवस्था रहे पनि आफ्नो परम्परा र संस्कृति छाड्न नसक्ने हाम्रो सभ्यता र पहिचान रहेको छ । उनले भने, समस्यासँग जुध्दै अघि बढ्न र चुनौतीको सामना गर्नुपर्छ । नागरिकलाई महामारीबाट बचाउन सरकारले उपचारको जिम्मा लिनु अनिवार्य दायित्व हाे । उनले भने, “महामारीलाई आधारभूत स्वास्थ्य सेवा नभने केलाई भन्ने कुरा आउँछ, त्यसैले सरकारको यो मानवीय र संवैधानिक दायित्व हो ।”

बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजमा मनाइँदै आएको महान् पर्व बडादशैंकाे उपलक्ष्यमा पूर्वप्रधानन्यायाधीश रेग्मीले सबै नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।