
दमौली, ८ कात्तिक । नेपालीहरुको महान् चाड वडा दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर रुपमा तीव्रगतिमा भइरहेकाे छ । आयोजनाले दशैंमा पनि कामलाई गति दिएको हो । आयोजना प्रमुख अच्युत घिमिरेले दशैंको सबै दिन आयोजनाको काम निरन्तर रुपमा अगाडी बढ्ने उनले जानकारी दिएका छन् । “दशैंका कारण काममा अवरोध छैन, काम निरन्तर भइरहेको छ,” उनले भने । सिनो हाइड्रोले ठेक्का पाएर काम भइरहेको विद्युत्गृह निर्माणका लागि हाल चिनियाँ मजदूरले काम गरिरहेका छन् ।
सिनो हाइड्रोले परिचालन गरेका करीब २ सय २० भन्दा बढी नेपाली मजदूरलाई दशैं बिदा दिइएपनि चिनियाँ मजदूरले काम गरिरहेको प्रमुख घिमिरेको भनाइ छ । “दशैं लगत्तै काममा फर्किने गरी नेपाली कामदारलाई दशैं मनाउन बिदा दिएका छाैं, पचास जना चिनियाँ कामदारले दशैंको अवधिमा पनि काम गर्छन्,” उनले भने, “एक जना भारतीय प्राविधिक पनि आइपुगेका छन्, दशैंको अवधिमा जलविद्युत गृहमा एउटा उपकरण जडान गर्ने काम हुन्छ ।” सिनो हाइड्रोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ र विद्युतगृह निर्माण तथा हाइड्रो र इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।
एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रशारण लाइन निर्माणको काम पनि अगाडी बढेको छ । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण गरिनेछ । उक्त कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । प्रशारण लाइनका लागि चालु आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइनका लागि कूल ९४ वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्र उपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ ।
पहिलो प्याकेजअन्तर्गत कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेजअन्तर्गत एक सय चालिस मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ । आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार एक सय ६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट उर्जा उत्पादन गर्नेछ । आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ ।
जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर ब्यहाेर्ने छ । आयोजनाको सहयोगमा बाटो कालोपत्र सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजनाले व्यास नगरपालिका–५ पाटनमा सडक कालोपत्र र पक्की नाला निर्माण सम्पन्न गरेको छ । आयोजनाको सहयोगमा व्यास नगरपालिकामार्फत् कार्यान्वयन भएर वाराहीचोकदेखि भिमसेनचोकसम्मको पाँच सय मिटर सडक कालोपत्र र पक्की नाला निर्माण सम्पन्न भएको हो । आयोजना प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व वहनअन्तर्गत रु दश लाखको सहयोगमा बाटो कालोपत्र गरिएको प्रमुख घिमिरेले जानकारी दिए । यसैगरी आयोजनाले सोही वडास्थित राष्ट्रिय परोपकार महासङ्घमा भान्साघर निर्माणका लागि उपभोक्ता समितिसँग सम्झौता गरेको छ ।रासस






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



