५ महिनामा अढाई अर्बभन्दा बढीको ल्यापटप र नोटबुक आयात

-



     सफल आवाज    
     पौष ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ पुस । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ५ महिनामा नेपालमा २ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको ल्यापटप तथा नोटबुक आयात भएको छ ।

भन्सार विभागले हालै अद्यावधिक गरेको वैदेशिक व्यापारको मंसिर महिनासम्मको तथ्याङ्क अनुसार नेपालमा विश्वका २७ देश तथा नाम नखुलेको एक स्थानबाट २ अर्ब ६० करोड ७४ लाख ५८ हजार रुपैयाँ बराबरका ३८ हजार ६८ थान ल्यापटप तथा नोटबुक आयात भएको पाइएको छ । यी डिभाइस आयात बापत सरकारलाई ३३ करोड ९५ लाख ८९ हजार रुपैयाँ राजस्व आम्दानी भएको छ ।

सबैभन्दा धेरै चीनबाट ३६ हजार ६७७ थान आयात

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म चीनबाट सबैभन्दा धेरै अर्थात् ३६ हजार ६७७ थान ल्यापटप तथा नोटबुक डिभाइसहरु आयात भएको तथ्याङ्क छ । उक्त परिमाणको ल्यापटप तथा नोटबुकको मूल्य समग्रमा २ अर्ब ५२ करोड ४९ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

यसपछि मलेसियाबाट २ करोड २३ लाख ३४ हजार बराबरको ४०७ थान, जापानबाट ९४ लाख ५२ हजार बराबरका २३७ थान तथा भारतबाट ५५ लाख ५७ हजार बराबरका १९५ थान ल्यापटप तथा नोटबुक डिभाइस भित्रिएको छ । यस्तै अमेरिकाबाट १ करोड ६७ लाख ५ हजार बराबरको १९४ थान, सिंगापुरबाट ३५ लाख ५९ हजार बारबरका ६४ थान, थाइल्याण्डबाट १९ लाख ८१ हजार बराबरको ६२ थान, संयुक्त अरब ईमिरेट्सबाट ३२ लाख १६ हजार बराबरको ४६ थान, ताइवानबाट ३३ लाख ३९ हजार बराबरका ३२ थान, दक्षिण कोरियाबाट ९ लाख ११ हजार बराबरको १७ तथा बेलायतबाट ९ लाख ७२ हजार बराबरको १५ थान ल्यापटप तथा नोटबुक आयात भएको विवरणमा उल्लेख छ ।

अष्ट्रेलियाबाट ५ लाख ७८ हजार बराबरको ११ थान, पोल्याण्ड र भियतनामबाट समान १०-१० थान यस्ता डिभाइस आएका छन् जसको मूल्य क्रमश: ९ लाख २६ हजार र ४२ लाख ७२ हजार रहेको छ । यसबाहेक हङकङ र कतारबाट समान ५-५ थान आयात भएकोमा तिनीहरुको मूल्य क्रमश: २ लाख ९१ हजार र ९६ हजार रुपैयाँ परेको छ । नामिबाियाबाट ७ लाख ३२ हजार बराबरको ४ थान तथा नर्वे र कुबेतबाट यो अवधिमा समान २-२ थान डिभाइस आयात भएको छ । नर्वे र कुवेतबाट आएका डिभाइसको मूल्य क्रमश: ५१ हजार र १ लाख ९ हजार रुपैयाँ रहेको छ ।

यसैगरी अष्ट्रिया, म्यानमार, जर्मनी, लिथुआनिया, इटली, इजरायल तथा बेल्जियमबाट १-१ थान ल्यापटप तथा नोटबुक आयात भएको तथ्याङ्क छ । यसबाहेक ६१ लाख ५९ हजार बराबरका ६५ थान यस्ता डिभाइस पनि आयात भएको देखिए पनि कुन देशबाट भित्रिएको भन्ने खुलेको छैन ।