५ महिनामा ११ अर्बमाथिको स्मार्टफोन आयात

-



     सफल आवाज    
     पौष ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ पुस । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ५ महिनामा नेपालमा ११ अर्ब २० करोडभन्दा बढीको स्मार्टफोन भित्रिएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्याङ्क अनुसार यो अवधिमा ८ लाख ३ हजारभन्दा बढी स्मार्टफोन आयात भएको हो ।

विभागले साउन, भदौ, असोज, कात्तिक र मंसिर गरी ५ महिनाको आयात निर्यातका आधारमा सार्वजनिक गरेको तथ्याङ‍्क अनुसार मंसिर मसान्तसम्म समग्रमा ११ अर्ब २० करोड ८० लाख ९६ हजार रुपैयाँ बराबरको ८ लाख ३ हजार ८१८ थान स्मार्टफोन आयात भएको देखिन्छ ।

सरकारले गत भदौ ३० गतेदेखि अवैध रुपमा भित्रिएका मोबाइल फोन चल्न नदिनेगरी एमडीएमएस प्रणाली लागू गरेको थियो भने अब पुस १५ देखि त्यसलाई पूर्णरुपमा कार्यान्वयनमा लैजाने भएको छ । यसै क्रममा मंसिर मसान्तसम्म विश्वका विभिन्न ५१ देशबाट विभिन्न परिमाणमा स्मार्टफोन भित्रिएको छ ।

सबैभन्दा बढी चीनबाट

तीमध्ये सबैभन्दा बढी चीनबाट ७ अर्ब ५९ करोड ५० लाख ६३ हजार बराबरको ५ लाख ७० हजार ३८० थान तथा भारतबाट ३ अर्ब २० करोड ८३ लाख ६ हजार बराबरको २ लाख २८ हजार ३९६ थान स्मार्टफोन आएको देखिएको छ ।

भियतनामबाट २ करोड ५५ लाख हाराहारीको ७ सय थान, जापानबाट ५ करोड ४ लाख हाराहारीको ७८८ थान, यूएईबाट ९ करोड ८५ लाख बराबरको १ हजार २३ थान तथा अमेरिकाबाट ८ करोड १२ लाख बराबरको ८ सय थान आयात भएको छ । यस्तै अस्ट्रेलियाबाट ४ करोड ७१ लाख बराबरको ४५५ थान, दक्षिण कोरियाबाट २ करोड ५२ लाख बराबरको ४१८ थान, कतारबाट १ करोड ८५ लाख बराबरको २०१ थान, बेलायतबाट १ करोड १७ लाख बराबरको १३१ थान, हङकङबाट १ करोड ४४ लाख बराबरको १४० थान तथा साउदी अरेबियाबाट २८ लाख ५६ हजार बराबरको ४० थान स्मार्टफोन भित्रिएको विवरणमा उल्लेख छ ।

मलेसियाबाट ३८ लाख ३१ बराबरको ६५ थान, फिनल्याण्डबाट ५० लाख ५९ हजार बराबरको ६० थान तथा कुवेतबाट २२ लाख ३१ हजार बराबरको ३७ थान स्मार्टफोन आयात भएको छ । यस्तै क्यानडाबाट ३४ लाख बराबरको ३२ थान, नेदरल्याण्ड्स, जर्मनी र फ्रान्स र डेनमार्कबाट समान ९-९, पोर्चुगलबाट १२ थान, डेनमार्क र सिंगापुरबाट २३ थान आयात भएको छ ।

थाइल्याण्डबाट ८, ताइवानबाट ७, र बेल्जियम, इटली, माल्टा र न्युजिल्याण्डबाट समान ५-५ थान, पोल्याण्ड, नर्वे र माल्दिभ्सबाट समान ४-४ थान, पोर्टो रिको, आयरल्याण्ड र अस्ट्रियाबाट समान ३-३ थान स्मार्टफोन आएको तथ्याङ्क छ । यीबाहेक अन्य १४ देशबाट ४० हजारदेखि ३ लाख २३ हजारसम्मा १ देखि २ सेट स्मार्टफोन नेपाल भित्रिएको पाइएको छ ।