नाफा बुक गर्ने प्रवृत्ति बढेपछि सेयर बजारमा करेक्सन

-



     सफल आवाज    
     पौष १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ पुस । लामो समयको अन्तरालपछि मंगलबार करिब ४ अर्बको कारोबार भएपछि दंग परेका सेयर लगानीकर्ताहरु आज बढी हावी भएका छन् । उनीहरुको ध्यान नाफा बुकतर्फ लागेपछि सेयर बजार आज प्रभावित भएको छ । दुईदिन पछि सेयर बजार पुनः ओरालोको यात्रामा गएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.८२ अंकले घट्न पुगेको छ भने यो १९७२.१५ विन्दुमा रोकिएको छ । नेप्सेमा ०.६० प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ४.७२ अंकले घटेर ३८१.३२ विन्दुमा पुगेको छ ।

यसदिन ७ वटा उपसमूहहरुमा रातो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी ६ वटामा हरियो लागेको छ । उनीहको सेयर बढेको छ ।

आज २५७ वटा कम्पनीको सेयर कारोबार भएको छ । ६५ लाख ३० हजार ४१५ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँ ९१ पैसा बराबरको कारोबार भएको छ ।

मुलुकमा नयाँ सरकार बनेपछि दुई दन उकालो लागेको सेयर बजारमा तेश्रो दिनमा आज सेयर लगानीकर्ताहरु हावी भएपछि त्यसको प्रभाव परेको हो । बितेका दुई दिनमा बजारमा ११६ अंकको बृद्धि भएको थियो ।

सेयर बजार बढेर बुम हुन थालेपछि नाफा कमाउने हेतुले बेच्ने प्रबृत्ति बढ्नाले सूचकहरुमा त्यसको प्रभाव परेको छ । अघिल्लो दिनकाे तुलनामा सेयरको खरिदबिक्री तथा कारोबार रकममा पनि कमि भएको छ ।

सेयर बजारमा सुधार आउनका लागि यसअघिको सरकारको पालामा देखिएका समस्या, लगानीकर्ताहरुका माग र तिनको उचित संवोधन तथा बैंकको व्याजदर आगामी महिनामा घट्नुपर्ने आवश्यक्ता देखिएको छ । यसो भयो भने सेयर बजार सुधारोन्मुख यात्रामा जानेछ ।

सरकार बने लगत्तै नीजि क्षेत्रका नेतृत्वसंग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको छलफलमा अर्थतन्त्रलाई पुनरुत्थान गर्ने सरकारको सोंच रहेको बताएपछि मंगलबार सेयर बजारमा सकारात्मक चमक देखिएको थियो ।

यसदिन कारोबारको आधारमा सबैभन्दा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै महुली लघुवित्त वित्तीय संस्थाको ५.२० प्रतिशतले सेयरमूल्य घटेको छ ।