नेप्सेमा दोहोरो अंकको वृद्धि, ४ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     पौष १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ पुस । साताको सेयर कारोबार हुने पहिलो तथा अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो महिना जनवरीको पहिलो १ तारिखको दिन सेयरमा बजारमा दोहोरो अंकको बढोत्तरी भएको छ ।

नयाँ सरकार बनेपछि र सरकारले अर्थतन्त्रलाई सुधार गरेर लैजाने तथा अर्थतन्त्रमैत्री वातावरण बनाउने बताएपछि सेयर बजार उकालो लाग्न थालेको हो । नेप्सेको यस्तो सकारात्मक लयले लगानीकर्ताहरुमा उत्साह जगाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.२६ अंकले बढेर २०४६.२९ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.७२ अंकले बढेर ३९४.०२ विन्दुमा पुगेको छ ।

आज कुल २६१ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ८ लाख ८० हजार ९०४ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँ १९ पैसा बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये दुईमा बाहेक ११ वटैमा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । दुइ उपसमूह विकास बैंक तथा फाइनान्सतर्फ गिरावट भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंक लिमिटेडको २२ करोड ५७ लाख ४८ हजार ९७९ रुपैया १० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सृजनशिल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिद्धार्थ इक्वीटि फण्डको सेयरमूल्य ५.५७ प्रतिशतले घटेको छ ।