बाराही हाइड्रोपावरकाे २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

-



     सफल आवाज    
     पौष १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ पुस । नेपाल स्टक एक्सचेन्ज र बाराही हाइड्रोपावर पब्लिक लिमिटेडबीच प्रतिसेयर रुपैयाँ १०० कायम भएको २५ लाख कित्ता साधारण सेयर सूचीकरणका लागि सम्झौता भएको छ ।

नेप्सेले बाराहीलाई सो सेयरको लागि नेप्से संकेत BHPL प्रदान गरेको छ । कम्पनीले सर्वसाधारणका लागि धितोपत्र बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड मार्फत साधारण सेयर खुल्ला गरेको थियो ।

आयोजनाबाट प्रभावित जनताका लागि वितरण गरिएको १ लाख ४६ हजार कित्ता, सर्वसाधारण लगानीकर्ताका लागि वितरण गरिएको, सामूहिक लगानी कोष र कर्मचारीहरुको लागि समेत गरेर ५ लाख ५४ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको १८ लाख कित्तासहित कुल २५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम यही पुस १४ गते भएको निर्णय अनुसार नेप्सेमा सूचीकरण गरिएको जानकारी गराएको छ । सोमबार नेप्से र कम्पनीबीच सेयर सूचीकरणको सम्झौता भएपछि यसको दोश्रो दिन अर्थात मंगलबारबाट कम्पनीको सेयर दोश्रो बजारमा कारोबार शुरु हुनेछ ।

यसअनुसार BHPL संकेतमा बाराहीको पहिलो कारोबार न्यूनतम ६४ रुपैयाँ ९७ पैसादेखि अधिकतम १९४ रुपैयाँ ९१ पैसाभित्र हुनेछ ।