
काठमाडौं, २२ पुस । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार यही पुस २६ देखि हुने भएको छ । नेपाल राष्ट्र बैंकले आज एक सूचनामार्फत् प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी एकीकृत कारोबार यही पुस २६ देखि गर्ने गरी तय भएको जनाएको हो ।
दुई बैंक एकआपसमा गाभिएपछि प्रभु बैंकका नामबाट एकीकृत कारोबार हुनेछ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने÷गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन २०७९) को विनियम ११ को उप–विनियम (७) बमोजिम रहेको जनाएको छ ।
दुवै बैंकबीच एक बराबर एक अनुपातमा मर्ज हुने भएका हुन् । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीइओमा सेञ्चुरी बैंकका सीइओ मनोज न्यौपाने बन्नेछन् । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ मा मर्जर सम्झौता भएको थियो ।
प्रभु बैंकले पनि आज सूचना जारी गर्दै एकीकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनका लागि चार दिन सम्पूर्ण सेवा बन्द हुने जनाएको छ । बैंकले जारी गरेको सूचनाअनुसार आज राति १० बजेदेखि २६ गते बिहान १० बजेसम्म दुवै बैंकले विभिन्न शाखाबाट प्रदान गर्दै आइरहेको सम्पूर्ण सेवा बन्द रहने जनाएका हुन् ।
प्रभु बैंकको चुक्ता पुँजी रु १२ अर्ब ७० करोड छ भने सेञ्चुरी बैंकको चुक्ता पुँजी रु नौ अर्ब ५५ करोड छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




