
काठमाडौं, २५ पुस । नेपालमा पुँजीगत खर्च अर्थात् विकासे बजेटको अवस्था निराशाजनक देखिएको छ । नयाँ आर्थिक वर्ष सुरू भएको ६ महिना सुरू हुँदा पनि पुँजीगत बजेट ११ प्रतिशत मात्रै खर्च भएको छ ।
महालेखा नियन्त्रणको कार्यालयका अनुसार चालू आर्थिक वर्ष ०७९÷८० को पहिलो ६ महिनामा ४२ अर्ब ४५ करोड २२ लाख अर्थात् पुँजीगत अन्तर्गतको कुल बजेटको ११.१६ प्रतिशत बजेट खर्च भएको तथ्यांकले देखाएको छ ।
निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमा पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रूपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो । चालू खर्च भने सन्तोषजनक देखिएको छ ।
चालू आवको ६ महिनाको अवधिमा चालू खर्च ३३.२३ प्रतिशत अर्थात ३ खर्ब ९३ अर्ब १४ करोड ७७ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ । महालेखाका सूचना अधिकारी कृष्ण पुडासैनीका अनुसार वित्तीय खर्च पनि सन्तोषजनक भएको छ ।
चालू आव ०७९÷८० को पहिलो ६ महिनामा ६३ अर्ब ४२ करोड ८५ लाख अर्थात् २५.७७ प्रतिशत खर्च भएको छ । चालू आवका लागि २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख खर्च गर्ने लक्ष्य लिएको सरकारले ६ महिनाको अवधिमा करिब ५० प्रतिशतको हाराहारीमा खर्च हुनुपर्नेमा २८ प्रतिशत खर्च भएको हो ।
चालू आर्थिक वर्षका लागि सरकारले १७ खर्बभन्दा बढीको बजेट ल्याएको थियो । जसमा चालूतर्फ ११ खर्ब ८३ अर्ब, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब र वित्तीयतर्फ २ खर्ब ३० अर्ब रूपैयाँ छुट्याइएको थियो । जसमा पुसको तेस्रो साता सुरू हुँदा पनि बजेट कार्यान्वन अवस्था २७.८२ प्रतिशत मात्रै छ ।
२५ प्रतिशत उठ्यो राजस्व
चालू आवको बजेटको खर्च मात्रै होइन, राजस्व संकलनको अवस्था पनि न्यून देखिएको छ । वर्षभरिमा १४ खर्ब ३ अर्ब १४ करोड ७० लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको सरकारले ६ महिनाको अवधीमा ३ खर्ब ५० अर्ब ९४ करोड ९६ लाख मात्रै संकलन गरेको छ ।
महालेखा नियन्त्रणको कार्यालयको तथ्यांकअनुसार सरकारले कर, गैरकर, अनुदान र अन्य शीर्षकमा सरकारले कर उठाउँदै आएको छ । जसमध्ये आजको मितिसम्म सरकारले २५.०१ प्रतिशत कर, २५ प्रतिशत गैरकर, अनुदान कर २५ र अनुदानतर्फ ६.१६ प्रतिशत कर जम्मा गरेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




