संविधानसभा सदस्य चौधरीको कोरोनाबाट मृत्यु

-



     सफल आवाज    
     कार्तिक ११ गते २०७७ मा प्रकाशित



काठमाडौं, ११ कात्तिक । संविधानसभा सदस्य मानपुर चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

सप्तरीको कंचनरुप–४, जगतपुर निवासी ५५ वर्षीय चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको हो । उनलाई ज्वरो आएको र श्वासप्रश्वासमा समेत समस्या भएपछि असोज तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो ।

त्यहाँ पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर फर्काइएको थियो । पुनः बिरामी भएपछि कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको निगरानीमा अक्सिजन लगाई उपचार गर्दा समेत सास फेर्न गाह्रो भएपछि कात्तिक २ मा थप उपचारका लागि धरान लगिएको थियो । सोही दिन उनको स्वाब संकलन भएको र भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित थिए ।

उनी दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र–१ बाट निर्वाचित भएका हुन् ।