
भक्तपुर, ३० पुस । माघे सङ्क्रान्ति नजिकै आइसक्यो । मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरी इनाय टोलका व्यापारीलाई भने यतिखेर चाकु बनाउन भ्याइनभ्याइ छ । मध्यपुरथिमिमा ५८ वर्षअघि बाबु गणेशप्रसाद श्रेष्ठले सुरु गरेको चाकु बनाउने पेसा नाती पुस्तासम्म पनि प्रख्यात छ ।
माघे सङ्क्रान्ति नजिकिएसँगै उत्तमराज श्रेष्ठको परिवार एकमहिना अघिदेखि चाकु बनाउन व्यस्त छ । थिमिमा चाकु उत्पादन गर्ने पुरानो एकमात्र गणेश चाकु वासको नामबाट प्रख्यात श्रेष्ठले माघे सङ्क्रान्तिका लागि मात्रै नभई वर्ष दिनभरि नै चाकु बनाउन्छन्। यहाँको चाकु र पुष्टकारी स्वदेशमा मात्रै नभई विदेशमा पनि प्रख्यात रहेको बताए। माघे सङ्क्रान्तिले भीड बढेको र जाडो बढेकाले चाकुको माग धान्न धौ धौ परेको उनकेा भनाइ छ ।
एक महिनादेखि उनको परिवारसहित दैनिक २५ जना चाकु र तीलको कालो तथा सेता लड्डु तिलौरी बनाउन व्यस्त छन्। उनले भने, “माघे सङ्क्रान्ति नजिकिएपछि चाकु लिन आउनेको भीड लाग्छ, यहाँ उत्पादन भएको चाकु र पुष्टकारी औषधिको रुपमा प्रयोग गर्न टाढाटाढाबाट लिन आउँछन्, यहाँको चाकुले खोकी निको पार्छ, गर्भवती, सुत्केरीका लागि टाढाटाढाबाट यहीँ चाकु लिन आउँछन्, महिलामा रगत बग्ने समस्या भयो भने चाकु लिन यहीँ आउँछन् ।”
सुत्केरीले यहाँको चाकु खाँदा चिसो नलाग्ने, बच्चाका लागि पर्याप्त दूध आउने, सुत्केरीलाईसमेत सहज हुने भएकाले जाडोमा मात्र नभई गर्मीमा चाकु लिन यहाँ आउने गरेको उनले बताए। यहाँका सुदीप श्रेष्ठ जाडोमा र वैशाख जेठमा दैनिक सातदेखि १०, असोज कात्तिकमा १५ देखि २० किलो चाकु र पुष्टकारी बिक्री हुने गरेको सुनाए। जाडो बढेपछि दैनिक ५० किलोसम्म चाकु र पुष्टकारी बिक्री गर्ने गरेको र माघे सङ्क्रान्तिलाई उपत्यका र बाहिरबाट माग अत्यधिक आउने भएकाले दैनिक दुई सय किलोसम्म बिक्री हुने गरेको उनले बताए।
“चाकु लिनेको १० दिन अगाडिदेखिनै भीड छ, माघे सङ्क्रान्तिको दिन त चार सयदेखि पाँच सय किलोसम्म चाकु बिक्री हुन्छ । सङ्क्रान्तिपछि पनि बिक्री हुन्छ, हामी २५ जना चाकु बनाउन, प्याकिङ गर्न र बिक्रीलाई खटिएका छौँ ।” भकभकी उम्लिएको दूधमा सख्खर, नरिवल, छोगडा, कुराउनी र विभिन्न मसलाको प्रयोग गरेर बनाइने चाकु लिन भक्तपुर, काठमाडौँ, ललितपुर, साँखु, पनौती र उपत्यका बाहिरबाट समेत आउने गरेको सुनाए ।
एक पाउँ, आधा किलो र एक किलो प्याकिङमा पाइने यहाँको चाकु प्रख्यात भएकै कारण स्वदेश तथा विदेशमा उपहार दिन र सुत्केरीलाई खुवाउन टाढादेखि आउने गरेको किस्सा उनले सुनाए। यहाँको चाकु काठमाडौँ उपत्यका र बाहिर बस्ने नेपालीले लैजान्छन् । यो खाँदा फरक स्वाद, मिठास र औषधिजन्य गुण रहेको दाबी उत्तमराजकाे छ । यहाँको चाकु भारत, अमेरिका, अष्ट्रलिया, जापानलगायतका विभिन्न देशमा समेत पुग्छ । विदेश जाने बेलामा कोसेली पठाउने र विदेशमा बस्ने नेपालीले यहाँको चाकु नै माग गर्ने उनले सुनाए ।
केही वर्ष अगाडिसम्म प्रतिकिलो रु पाँच सयमा बिक्री गरेकोमा कच्चा पदार्थको मूल्य बढ्दै गएपछि अहिले किलोको रु सात सयमा बिक्री गरेको उनले बताए। बाजेले सुरु गरेको यो व्यवसायबाट राम्रो जीविकोपार्जन हुने भएपछि बाबुलाई साथ दिँदै आउनुभएका सुदीपले पनि यो पेसालाई निरन्तरता दिँदै आएको बताए।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




