६ महिनामा १ खर्ब ४३ अर्बको पेट्रोलियम पदार्थ आयात

-



     सफल आवाज    
     माघ १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० माघ । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ६ महिनामा १ खर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आायात भएको छ । हालै भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको शुरुवाती ६ महिना अर्थात् साउनदेखि पुस मसान्तसम्म आधारित वित्तीय तथ्याङ्कमा यस्तो आँकडा देखिएको हो ।

यो अवधिमा नेपालमा १ खर्ब ४३ अर्ब ७८ करोड ४० लाख ८३ हजार बराबरको ३ लाख ३४ हजार ३१५ किलोलिटर पेट्रोल, ५ लाख ५० हजार ९०२ किलोलिटर डिजेल, ८७ हजार ८८५ किलोलिटर हवाई ईन्धन, ५ हजार ३२४ किलोलिटर मट्टितेल र २४ करोड ८७ लाख ६९ हजार १८३ किलोग्राम खाना पकाउने एलपी ग्याँस खरिद गरिएको आँकडा छ । उक्त परिमाणको पेट्रोलियम पदार्थ आयात गरेवापत् सरकारले यो अवधिमा ४७ अर्ब ९५ करोड ३० लाख ७६ हजार राजस्व आम्दानी गरेको छ ।

यसरी आयात भएका विभिन्न प्रकारका पेट्रोलियम पदार्थमध्ये अधिकांश भारतबाट र नगण्य मात्रामा अमेरिकाबाट आएको तथ्याङ्कले देखाएको छ । अमेरिकाबाट आएकोमा ज्यादै नगण्य मात्रा अर्थात् १ किलोलिटर हवाई इन्धन रहेको छ । जसको मूल्य २३ हजार रुपैयाँ उल्लेख गरिएको छ ।

विभागले सार्वजनिक गरेको विवरण अनुसार साउन, भदौ, असोज, कात्तिक, मंसिर र पुस महिनामा गरी भारतबाट आयात भएको पेट्रोलको मूल्य ३३ अर्ब ५३ करोड ५७ लाख ८ हजार रहेको छ । यस्तै डिजेलको मूल्य ७० अर्ब १० करोड ५७ लाख ६० हजार, हवाई ईन्धनको मूल्य ११ अर्ब २४ करोड १६ लाख ४५ हजार तथा मट्टितेलको मूल्य ६९ करोड ९५ लाख ७२ हजार रुपैयाँ बराबर रहेको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी यो अवधिमा आयात भएको २४ करोड ८७ लाख ६९ हजार १८३ किलोग्राम खाना पकाउने एलपी ग्याँसको समग्र मूल्य २८ अर्ब २० करोड ३४ लाख १९ हजार रुपैयाँ रहेको तथ्याङ्कमा उल्लेख छ ।