११ बुँदे सम्झौता कार्यान्वयन नगरेपछि सुपर मादी हाईड्रोपावरमा लगाए प्रभावित जनताले ताला

-



     आरजू विष्ट सल्यानी    
     माघ ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ माघ । सुपर मादी हाइड्रो पावरले ११ बुँदे त्रिपक्षिय सम्झौता कार्यान्वयन नगरेको भन्दै आयोजनाबाट प्रभावित स्थानिय जनताले हाईड्रोपावरमा ताला लगाई दिएका छन् ।

कास्कीको मादी गाउँपालिका २ स्थित ताङतिङ युवा क्लव, मादी नदी सरोकार समिति र स्थानिय जनताले त्यहाँस्थित सुपर मादी हाइड्रो पावर प्रा.लि को ताङतिङस्थित साईटको कार्यालयमा ताला लगाएर सम्झौता कार्यान्वयन गर्न सर्वपक्षिय भेलाकाे निर्णयसहितको पत्र पनि टाँसेका छन् ।

सुपर मादी हाईड्रोपावरसंग भएको ११ बुँदे त्रिपक्षिय सम्झौता कार्यान्वयन नगरेसम्म कामकाजमा अवरोध गर्ने र लगाईएको ताला पनि खोल्न नदिने उनीहरुले चेतावनी दिएका छन् । पूर्व जनप्रतिनिधि तथा ताङतिङ युवा क्लवका अध्यक्ष भोज बहादुर गुरुङले हाईड्रोले नोक्सान पुर्याएको, ३५ जना स्थानिय जनताले मुआब्जा नपाएको बताए । अहिले पनि स्थानियको खेतबारीमा ठूला ठूला ढुंगाहरु रहेकाे बताए । मुआब्जा र समस्याका बारेमा कुरा गर्दा उल्टै धम्क्याउने गरेको उनले सफल आवाजलाई बताए ।

परियोजनाले सम्झौता अनुसारको काम पनि नगरेको, ३५ घर परिवारलाई मुआब्जा पनि नदिएको, सिकलेस ताङतिङको बीचमा मोटरेबल पुल नबनाएको, खेलमैदान लगायतका पूर्वाधारका कामहरु गर्छु भनेर पनि नगरेपछि ताला लगाउनु परेको गुरुङले बताए ।

यहाँ कस्तो बिजोग छ, गुरुङले भने, स्थानिय जनता रुँदै हामी सरोकार समिति, गाउँपालिका, जनप्रतिनिधि, आमा, बाबा समूह तथा क्लवसंग आउँछन् सुपर मादी हाईड्रोले पुर्याएको असरको बारेमा निकास खोज्न भन्छन् । गुरुङले जबसम्म माग पूरा हुन्न तबसम्म सम्पूर्ण कामकाजहरु ठप्प पार्ने सम्पूर्णको एक मत रहेको दोहोर्याए ।

बैठक क्लवका अध्यक्ष भोज बहादुर गुरुङको अध्यक्षतामा बसेको थियो । बैठकले ११ बुँदे सम्झौताको कार्यान्वयन नभएको तथा आयोजनाबाट प्रभावित स्थानिय जनताको हक अधिकारको समेत अवहेलना गरिएकोले सम्झौता कार्यान्वयनमा नआएसम्म काम गर्न नदिने भन्दै सर्वसम्मत निर्णय गरिएको जनाईएको छ ।

बैठकले सुपर मादी हाइड्रोपावर र मादी नदी सरोकार समितिबीच भएको सम्झौता अनुसार सेती खोलालाई ३० लाख छुट्याईएको र सो रकममध्ये १२ लाख विद्यालयको अध्यक्षयकोषमा राख्ने निर्णय अनुसार खातामा आईसकेको जनाईएको छ ।

बाँकी रहेको १८ लाख रुपैयाँ सेतीखोला युबा क्लव, आमा समूह, बाबा समूह लगायत सेतीखोला युबा क्लवको माछापुच्छ्रे बैंकमा रहेको खाता नं ०७९०९९०१८९४०१८४५ मा जम्मा गरिदिन अनुरोध गरिएको छ ।

प्रस्ताव नं २ को निर्णयमा सुपर मादी हाइड्रो पावरले दिनुपर्ने रकम २०७४ सालभित्र भुक्तानी गर्नुपर्ने सम्झौता भएपनि हालसम्म नदिएको र मौखिक रुपमा पटक पटक भन्दा पनि उपलव्ध नभएकोले माघ महिनाको मसान्तभित्र क्लवको खातामा उपलव्ध गराउन भनिएको छ ।

रकम उपलव्ध नगराए सम्झौता भएको मितिबाट ब्याजसहितको असुल उपर गराउन बाध्य हुने निर्णय गरिएको छ ।