यी ३ कम्पनीको लाभांश आजसम्म सुरक्षित गर्न सकिने

-



     सफल आवाज    
     माघ १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ माघ । अरुण भ्याली हाइड्रोपावर, रिडी पावर कम्पनी र तारागाँउ रिजेन्सि होटलकाे लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम दिन बाँकी रहेकाे छ । यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुधबार माघ १८ गते बुकक्लोज गर्ने भएका छन् ।

लाभांश सुरक्षित गर्नका लागि सेयरधनीहरुले आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।यसरी कायम भएका सेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन पाउने र लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन्।

अरुण भ्याली हाइड्रोपावर

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले माघ २७ गते २५औँ साधारण सभा बाेलाएकाे छ । सभा मैत्री हल, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वरमा बाेलाएकाे हाे । सभा बिहान ११ बजेबाट शुरु हुनेछ।

सभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । सभाबाट कम्पनीले निर्माण गर्न लागेको १४.५० मेगावाटको बुदुम खोला जलविद्युत आयोजनाको लागि ऋण स्वीकृत गर्ने र नियमावली र प्रबन्धपत्रमा संशोधन गर्नका लागि सञ्चालक समितिलाई त्यसकाे अख्तियारी दिने लगायतका प्रस्ताव पारित गरिने भएका छन् ।

रिडी पावर कम्पनी

रिडी पावर कम्पनीले माघ २९ गते, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११ बजे २१औँ वार्षिक साधारण सभा डाकेकाे छ।

सभाबाट ४० प्रतिशत बोनस सेयर र करकाे प्रयोजनका लागि २.१० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै साझा पावर डेभलपमेन्ट प्राईभेट लिमिटेडको सबै सेयर खरिद गर्ने, सञ्चालकको नियुक्ति, तल्लो बलेफि खोला (२० मेगावाट) आयोजनाको लागि रिडी पावर कम्पनीको तर्फबाट ऋण जमानी बस्ने लगायतका प्रस्ताव पारित हुने भएका छन्।

तारागाउँ रिजेन्सी होटल

तारागाउँ रिजेन्सी होटल लिमिटेडले २६औँ वार्षिक साधारण सभा फागुन ३ गते बाेलाएकाे छ । सभा नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा बाेलाइएकाे छ।

सभाबाट ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ। यस्तै लेखापरीक्षककाे नियुक्ति, सञ्चालकहरकाे चयन लगायतका प्रस्ताव पारिने गरिने भएकाे छ।