लघुबीमाको लाइसेन्स सम्बन्धी रिटमा माघ २९ गते सुनुवाई हुने

-



     सफल आवाज    
     माघ १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ माघ । लघुबीमाको लाइसेन्स वितरण विरुद्ध परेको रिटमा आगामी माघ २९ गते सुनुवाई हुने भएको छ ।
गत असोज २ गते दीपक कुमार बरालले बीमा प्राधिकरणले गैर कानुनी रुपमा लाइसेन्स बाँड्न लागेको भन्दै दायर गरेको रिटमाथि असोज ५ गते नै पेशीमा चढेर अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भनेर दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश जारी भएको थियो ।

उक्त दिनपछि यो रिट ८ पटक पेशीमा चढेर प्रत्येक पटक हेर्न नभ्याइनेमा पर्दै आएको थियो । अब भने माघ २९ गते उक्त रिटमाथि सुनुवाई हुने पक्का भएको हो ।

बीमा प्राधिकरणद्वारा प्रतिनिधिसभा निर्वाचनको आचार संहिता लागू भइरेको बेला बीचमा मंसिर ११ गते लघुबीमाको लाइसेन्सका लागि आशय पत्र लिन आउन सूचना जारी भएको थियो । सर्वोच्च अदालतमा उत्प्रेषणको आदेशले लाइसेन्स वितरण सम्बन्धी कार्य बदर गर्न माग गर्दै रिट परेको छ । तर प्राधिकरणले त्यसलाई बेवास्ता गर्दै लाइसेन्स बाँड्ने प्रक्रिया अगाडि बढाइरहेको छ ।