
तुलसीपुर, २८ माघ । दिनभरि वडाको काममा व्यस्त । जनतासँग भेटघाट र साक्षात्कार । दिनभरको खटाइले थकान महसुस हुँदा थकाइ बिसाउने ठाउँ बनेको छ तरकारी खेती । तुलसीपुर उपमहानगरपालिका–१२ का वडाध्यक्ष खुसीराम चौधरीको बारीमा लटरम्म टमाटर फलेका छन्, प्याजका बेर्ना उम्रिदै छन् ।
पुर्खौदेखि तरकारी खेती गर्दै आएकाले पनि होला कचिला निवासी खुसीरामले जनप्रतिनिधि हुँदा पनि तरकारी खेतीलाई समय दिएका छन् । उनले भने, “म जनप्रतिनिधि हुँदा पनि यो काम जारी छ, यो काम दिनभरको थकान भुलाउने माध्यम पनि बनेको छ ।”
वडाध्यक्ष चौधरी बिहान ४ बजे उठेर बारीमा फलेका तरकारी लिएर बजारसम्म पनि पुग्छन्। “जनप्रतिनिधि होस्, या अरु कुनै पेसा व्यवसायमा हात हालेको व्यक्तिले प्रायः खेतबारीमा काम गरेको देखिँदैन”, वडाध्यक्ष चौधरीले भने, “तर, म भने उत्पादनमा जोडिनु पर्छ, ता की यो कुराले अरुलाई पनि शिक्षा होस् भन्ने चाहन्छु ।”
करिब तीन कट्ठामा उनले गोलभेँडा खेती गरेका छन्। अन्यमा खुर्सानी, प्याज, लसुन लगाएका छन् । चौधरीको २२ कट्ठा जग्गामा बर्सेनि तीन बाली खेती हुन्छ । तरकारी खेतीका हिसाबले उत्तम मानिएको कचिलामा बेमौसमी तरकारी बढी हुन्छ । उनले मङ्सिरदेखि वैशाखसम्म दैनिक ६० किलो गोलभेँडा निकालेर बजारमा बिक्री गर्छन् ।
हाल किलोको रु ३० मात्रै पर्न जान्छ । भारतीय तरकारी भित्रिदा नेपाली उत्पादनले बजार नपाउने गरेको उनको गुनासो छ । “हामीले उत्पादन गरेको तरकारीले बजार पाउँदैन्, भण्डारणका लागि ‘कोल्डस्टोर’ पनि छैन”, उनहाँले भने, “त्यसैले सस्तो मूल्यमा कृषिजन्य सामग्री बेच्नुपर्छ ।” तरकारी बेचेर उनले वार्षिक छ÷सात लाख आम्दानी गर्दै आएको बताए।
त्यहाँ सिँचाइको पनि राम्रो प्रबन्ध छ । बबई नदीको पानी लिफ्टिङबाट निकालिएको छ भने ग्वारखोलाको पानी कुलोमार्फत लगिएको छ । जबसम्म आफू पनि उद्यमशील बन्न सकिँदैन समृद्धिका भाषणले सार्थकता नपाउने उनको भनाइ छ । “हामी धेरै समृद्ध नेपाल बनाउने भनेर भाषण गर्छौं”, उनले भने, “तर भाषणले मात्रै समृद्ध हुन सकिदैन, आफैँ पनि उद्यममा जोडिनुपर्छ ।”








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




