माघमा घरजग्गा कारोबारको उकालो यात्रा जारी

-



     सफल आवाज    
     फागुन २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ फागुन । विगत केही महिनादेखि सुस्ताएको घरजग्गा कारोबार अघिल्लो महिनादेखि बढ्ने क्रम जारी छ । गएको मंसिरमा देशभरका मालपोत कार्यालयहरुबाट लिखत पारित २९ हजार १८४ रहेकोमा पुसमा बढेर ३८ हजार ८७१ पुगेको थियो ।

यो क्रम माघमा फेरि बढेर ४१ हजार नाघेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । बैंकहरुमा तरलता सहज हुँदै गएपछि घरजग्गा कारोबारमा पनि क्रमश: सुधार देखिएको हो ।

माघ महिनामा मात्रै नेपालगञ्ज मालपोतबाट सबैभन्दा धेरै घरजग्गा किनबेच भएको पाइएको छ । यो एक महिनामा नेपालगञ्ज मालपोतबाट १ हजार ६८५ लिखत पारित भएको तथ्याङ्क छ ।

माघ महिनामा जनकपुरधामबाट १ हजार ५६५, इनरुवाबाट १ हजार ४९९, तौलिहवाबाट १ हजार १५४, राजविराजबाट १ हजार १३२ लिखत पारित भएको छ । यसैगरी बेलबारीबाट १ हजार ११०, विराटनगरबाट १ हजार १०५, कलैयाबाट १ हजार ७७, भद्रपुरबाट १ हजार ६८ र भक्तपुरबाट १ हजार लिखत पारित भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

काठमाडौं उपत्यकाको हकमा माघ महिनाभरिमा लगनखेल मालपोतबाट ९८२, कलंकीबाट ७२०, चाबहिलबाट ४४४, साँखुबाट ४१८, मनमैजुबाट २७५, डिल्लीबजारबाट १८९ र टोखाबाट १४४ लिखत पारित भएको पाइएको छ ।

घरजग्गाको कारोबार बढेसँगै माघ महिनामा अघिल्लो महिनाको तुलनामा राजस्व पनि बढेको छ । माघमा घरजग्गा कारोबारबाट ३ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको विभागले जनाएको छ । गत पुसमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । यस हिसाबले पनि १ महिनामा ४ करोड रुपैयाँको बढोत्तरी देखिन्छ ।

सबैभन्दा बढ राजस्व लगनखेल मालपोतबाट

माघ महिनामा सबैभन्दा धेरै राजस्व लगनखेल मालपोत कार्यालयले उठाएको छ । लगनखेल मालपोत कार्यालयबाट यो महिनामा ३२ करोड ५१ लाख रुपैयाँ राजस्व उठेको छ । भक्तपुरबाट २३ करोड ३२ लाख, डिल्लीबजारबाट २१ करोड ७० लाख, कलंकीबाट २० करोड १३ लाख, चाबहिलबाट १९ करोड २० लाख, कास्कीबा १२ करोड ९० लाख र चितवनबाट १० करोड ५६ लाख रुपैयाँ घरजग्गा किनबेचबाट राजस्व उठेको विभागले जनाएको छ ।