सेयर बजार राताम्मै, लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा

-



     सफल आवाज    
     फागुन ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ फागुन । लगातार सेयर बजारमा गिरावट भईरहेको छ । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार पनि नेपाली सेयर बजारको ओरालोको यात्राले निरन्तरता पाएको छ ।

सेयर लगानीकर्ताहरु सेयर बजारमा लगातारको करेक्सनले पर्ख र हेरको अवश्थामा पुगेका छन् । नयाँ सरकार बनेपछि केहि दिनहरुमा उछाल आएको भएपनि पछिल्ला दिनहरुमा जारि अस्थिरता, सरकार गठनमा ढिलासुस्ति, सरकारबाट बाहिरिने क्रमले बजार प्रभावित भएकाे छ ।

नेपाल राष्ट्र बैंककाे मौद्रिक नीतिको समिक्षाबाट पनि लगानीकर्ताहरु ढुक्क हुन सकेका छैनन् । उनीहरु अझैं पर्ख र हेरको अवश्थामा रहेका छन् । नयाँ राजनीतिक समिकिरण तथा बजारिया हल्लाहरु र राजनीतिक घटनाक्रमले पनि सेयर बजार प्रभावित हुने गरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७०.४१ विन्दुमा झरेको छ । नेप्सेमा १.०१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.७० अंकले घटेर ३९६.४४ विन्दुमा रहेको छ ।

यसदिन कुल २५६ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ४७ लाख ४७ हजार ५६७ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ रुपैयाँ ४५ पैसा बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ५ करोड ३८ लाख २७ हजार ५४९ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सानिमा लार्ज क्याप फण्डको सेयरमूल्य बढेको छ । यसको सेयरमूल्य ७.६५ प्रतिशतले बढेको हो । सबैभन्दा धेरै युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य ५.७८ प्रतिशतले घटेको छ ।