प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाद्वारा सांसद केसीको निधनप्रति दुःख व्यक्त

-



     सफल आवाज    
     कार्तिक १८ गते २०७७ मा प्रकाशित



काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीटबाट श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य, सङ्घीय सांसद एवं उद्योगी सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गरेका छन्। देउवाले सामाजिक सञ्जालमार्फत केसीकाे निधनको खबरले आफूलाई अत्यन्तै दुःख लागेको उल्लेख गर्दै कांग्रेसले एक अग्रज नेता र देशले एक राजनीतिकर्मी मात्र नभई सफल व्यवसायी, समाजसेवी र कर्मशील व्यक्तित्व गुमाएको बताएका छन् । देउवाले दुःखको घडीमा उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केसीको निधनको खबरले अत्यन्तै दुःख लागेको उल्लेख गरेका छन् । निष्ठा, लगन र अनवरत कर्मले केसीको व्यक्तित्व अग्लिएको उल्लेख गर्दै नेता पौडेलले कास्केली जनताको सुख दुःखमा उनको साथ र सहयोग रहेको बताएका छन् ।

कांग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य केसीको निधनको खबरले मर्माहत बनाएको उल्लेख गर्दै स्व. केसी परिवारप्रति समवेदना तथा दिवङ्गत आत्माप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।