नेप्से परिसूचक ५ अंकले बढ्दा बैंकिङ उपसमूह भने घट्यो

-



     सफल आवाज    
     कार्तिक १८ गते २०७७ मा प्रकाशित



काठमाडौं, १८ कात्तिक । मंगलबार शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ ।

गत बिहीबारदेखि निरन्तर सोमबारसम्म घटेको बजार मंगलबार भने ५ दशमलव ४० अंक बढेर बन्द भएको हो ।

मंगलबार १ हजार ६३६ दशमलव २० विन्दुदेखि खुलेको बजार १ हजार ६४३ दशमलव शून्य ३ विन्दुमा बन्द भएको छ । बढेको बजारमा सोमबारको तुलनामा कारोबार रकममा भने कमि आएको छ । सोमबार २ अर्ब ४५ करोड ३९ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा मंगलवार २ अर्ब २३ करोड ७९ लाख ६४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

मंगलबार १९८ कम्पनीको २९ हजार ६०६ पटकको व्यापारमा उक्त रकम बराबरको ७७ लाख ५७ हजार ३५३ कित्ता शेयर कारोबार भएको हो । यो दिन कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल दुरसञ्चार कम्पनीले ओगटेको छ ।

यस कम्पनीको मंगलबार १० करोड ३ लाख २१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । दोस्रोमा एनआईसी एशिया बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस बैंकको ८ करोड ३४ लाख ४८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

मंगलबार पनि व्यापारिक समूहको परिसूचक सर्वाधिक ४ दशमलव ८ प्रतिशतले बढेको छ । यो दिन बैंकिङ समूहको शून्य दशमलव १७ प्रतिशत र विकास बैंकको शून्य दशमलव ७६ प्रतिशतले परिसूचक घटेको छ भने बाँकी १० समूहको परिसूचक बढेको छ ।