
पोखरा, १८ कात्तिक । पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसीको निधनले सिंगो पोखरा शोकमा डुबेको छ । नेपालको हाइड्रो, खाद्य, शिक्षा, बैंकिङ, हाउजिङ, कन्स्ट्रक्सन,मिडिया लगायत विविध क्षेत्रमा संलग्न रही अतुलनीय योगदान पुर्याएका केसी सोमबार राति यो धर्तीबाट बिदा भएका हुन् ।
प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका केसीको ६३ वर्षको उमेरमा आफ्नै निवास पोखरा महानगरपालिका वडा ७, एयरपोर्टमा राति साढे १० बजे निधन भएको हो । उनको मंगलबार बिहान पोखराको रामघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरियो । उनको पार्थीव शरीरमा नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाटले पार्टीको झन्डा ओढाइ अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । उनको शवयात्रा तथा अन्त्येष्टिमा परिवारजन, आफन्त, इष्टमित्र, राजनीतिक दल, नागरिक समाजका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, शुभचिन्तक लगायत ठूलो संख्यामा उपस्थित थिए ।

२०१४ जेठ १० मा जन्मिएका केसीमा पछिल्लो मधुमेह, उच्च रक्तचाप समस्या थियो । स्व. केसीका श्रीमती, ३ छोरा प्रकाश, किरण र रोशन, छोराबुहारी, ५ नाति र २ नातिनीहरु छन् ।
प्रतिनिधिसभा सदस्य चुनावताका राप्रपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका उनी समानुपातिक कोटाबाट सांसद बनेका हुन् । उनी पहिलो संविधानसभा सदस्य चुनावमा राप्रपाबाट सांसद बनेका थिए । उनी सानै उमेरमा पोखराको नगरपञ्चायतको प्रधानपञ्च समेत भएका थिए ।
पोखराका सफल उद्योगीका रुपमा परिचित केसीले नेपालमै पहिलो पटक चाउचाउ भित्राएका थिए । माछापुच्छे बैंकको संस्थापक अध्यक्ष केसीको नेपाल टुरिजम एण्ड होटल म्यानेज्मेन्ट कलेज, नेपाल इञ्जिनियरिङ कलेज, नेपाल मेडिकल कलेज, रारा चाउचाउको उत्पादक हिमश्री फुड्स प्रालि, गण्डकी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रालि, युनाइटेड इदि मर्दी एण्ड आरबी हाइड्रोपार, भगवती हाइड्रोपावर, तास हाइड्रोपावर, करुवा हाइड्रो, सुप्रिप हाइड्रो, पोखरा बहुमुखी क्याम्पस, रेडियो बाराही लगायत दर्जनौं संस्थामा आबद्धता थियो । सामाजिक कार्य भनेपछि हुरुक्कै हुने केसी दर्जनौं सामाजिक संघसंस्थामा संलग्न थिए ।
पोखराको तत्कालीन छिनेडाँडा गाविस वडा २, मझेरीपाटन निवासी स्व. कीर्तिबहादुर केसी र पम्फा केसीको ज्येष्ठ सुपुत्रको रुपमा जन्मिएका सूर्यबहादुर केसी सीतारामको नामले पनि परिचित थिए । उद्योगी बाबु कीर्तिबहादुरकै प्रेरणाबाट उनले उद्योग व्यवसायमा एकपछि अर्को क्षेत्रमा हात हालेका थिए । उनले एशियामै पहिलो पटक चाउचाउ भित्राएका थिए । रारा चाउचाउ अझै पनि चाउचाउ बजारमा राज गरिरहेको छ ।
उनले गण्डकी नुडल्स, हिमश्री फुड्स जस्ता उद्योग संचालन गरे । सो पश्चात जनचाहना अनुरुप उनी तत्कालीन पोखरा नगर पञ्चायतमा दुई दुई पटक प्रधानपञ्च बने । बहुदलीय व्यवस्था प्रारम्भ भएपश्चात राप्रपाको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय कोषाध्यक्ष जस्तो जिम्मेवारीमा रहेर कुशलतापूर्वक भूमिका निर्वाह गरेका उनी नेपालको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद बनेका थिए ।
पछि २०७४ सालमा नेपाली काँग्रेसमा प्रवेश गरेका उनी पार्टीको आमन्त्रित केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्य थिए । उनको योगदान शिक्षा क्षेत्रतर्फ पनि उत्तिकै छ । स्नातकसम्म अध्ययन पूरा गरेका केसीले पोखराको रामबजारमा कालिका बहुमुखी क्याम्पस स्थापना गरेका थिए । उनी स्थापनाकाल २०४७ देखि नै हालसम्म संचालक समिति अध्यक्ष थिए ।
यस्तै, नेपाल मेडिकल कलेज, नेपाल इञ्जिनियरिङ कलेज, पोखराकाे नेपाल टुरिजम एण्ड होटल म्यानेज्मेन्ट कलेज स्थापनामा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् ।उनले मुलुकमा लोडसेडिङले समस्या पारेपछि हाइड्रोतर्फ पनि लगानी गरी उज्यालो नेपाल बनाउन भूमिका निर्वाह गरेका थिए ।
युवा जागरणअन्तर्गत सहारा क्लब पोखराले संचालन गर्ने आहा रारा गोल्डकप फुटबल प्रतियोगितालाई निरन्तरता दिन लगातार २ दशकदेखि नै हिमश्री फुड्सको नाममा मुख्य प्रायोजन गर्दै आएका थिए । अनेकौं युवा क्लब, आमा समूह, संघसंस्था, टोल विकास संस्था, धार्मिक मठमन्दिर, आश्रम, क्याम्पस, विद्यालय लगायतमा आवश्यकता अनुरुप आर्थिक सहयोग गर्दै आएका थिए । क्षेत्र समाज, शान्तिघाट क्षेत्र विकास समिति, ओम शान्ति, मानव मिलन संस्था, नेपाल लोकसंस्कृति तथा परम्परा संरक्षणमा पनि योगदान दिएका छन् ।
रेडियो बाराही संचालनमा लगानी गरेका केसीले पोखराको पत्रकारिता क्षेत्रमा योगदानस्वरुप पत्रकारितामा यस क्षेत्रमै सबैभन्दा ठूलो धनराशिको ‘कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान’ स्थापना गरेका छन् ।

उनीसँगै व्यावसायिक क्षेत्रमा करिब ३५ वर्षसम्म सहयात्रा गरेका पोखराका उद्योगपति एवं पूर्व मन्त्री हरि पाण्डेले स्व. केसीको निधनले नेपालले एक कुशल उद्योगी गुमाएको बताए । उद्योगी पाण्डेले केसीलाई एक असल राष्ट्रवादी व्यक्तित्वको रुपमा सम्झिन्छन् ।
राप्रपा र पछि नेपाली काँग्रेसमा रहे पनि उनी एक राष्ट्रवादी व्यक्ति रहेको भन्दै पाण्डेले तीक्ष्ण बुद्धि, हिम्मत भएको, कुशल, परिश्रमीको रुपमा स्मरण गर्दछन् । आफूसँग सुरुवातमा रारा चाउचाउमै पनि सहकार्य रहेको भन्दै उनले नेपाल टुरिजम एण्ड होटल म्यानेज्मेन्ट कलेज, नेपाल इञ्जिनियरिङ कलेज, भगवती र तास हाइड्रो पावरमा पछिल्लो समयसम्म सहकार्य रहेको जानकारी दिए ।
यसैगरी, पोखराका शिक्षासेवी तथा उद्योगी अशोक पालिखेले स्व. केसीलाई दूरगामी सोच भएका व्यक्तित्वको रुपमा स्मरण गर्छन । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा कुमुदिनी हाेम्स माबि का संस्थापक समेत रहेका पालिखेका अनुसार स्व. केसी देशलाई कसरी औद्योगिक क्षेत्रमा अगाडि बढाउने र रोजगारी कसरी सिर्जना गर्ने भन्नेमा सधैँ चिन्तित रहने गर्दथे । आजभन्दा २२ वर्ष अघि नेपालमै पहिलो पटक नेपाल टुरिजम एण्ड होटल म्यानेज्मेन्ट कलेज स्थापना गर्दा केसी पनि संस्थापकमध्येका एक थिए । पालिखे सो कलेजको हाल अध्यक्ष छन् ।
यस्तै, केसी कन्स्ट्रक्सनको नाउँमा केसीले पोखरा क्षेत्रमा गरेकाे विकास तथा निर्माणकाे योगदान पोखरेलीले सदा स्मरण गरिरहनेछन् ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



