भारतीय स्थलसेनाध्यक्ष नरवणे आज नेपाल आउँदै

-



     सफल आवाज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ कात्तिक । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि बुधबार आउँदैछन । नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुुरुप उनी नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न आउन लागेका हुन ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरावणेलाई बिहीबार अपराह्न सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूूचना निर्देशनालयले जनाएको छ । सोही अवसरमा राष्ट्रपतिसँग उनले शिष्टाचार भेट गर्ने भएका छन । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन ।

नेपाली सेनाले स्थलसेनाध्यक्ष नरवणेको भ्रमणको मुुख्य उद्देश्य परम्पराको निरन्तरता भने पनि नेपालका कालापानी, लिपुुलेक र लिम्पियाधुरा क्षेत्रका भूूभाग भारतले राजनीतिक नक्शामा समेटेपछि उत्पन्न द्विपक्षीय सम्बन्ध सुुदृढ तुल्याउन उनको यहाँ हुने भेटघाट महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ ।

स्थलसेनाध्यक्ष नरवणेले बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन । त्यसलगत्तै सैनिक मुख्यालय जङ्गीअड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । सोही दिन प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरवणेसँग औपचारिक भेटवार्ता गर्ने भएका छन । सोही अवसरमा दुई देशबीचको सुरक्षा सहयोगसँग सम्बन्धित तेह्राैं बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरावणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ । उहाँको सम्मानमा बिहीबार नै जङ्गीअड्डामा रात्रिभोज आयोजना हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थलसेनाध्यक्ष नरवणेले शुुक्रबार औपचारिक भेट गर्नेछन । जनरल नरवणेको नेतृत्वमा रहेको चार सदस्यीय भारतीय सेनाको टोली शुक्रबार स्वदेश फर्कने जनाइएको छ ।