माघ मसान्तसम्म नेपालमा ४३ करोड बढीको स्मार्ट वाच भित्रियो

-



     सफल आवाज    
     फागुन २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० फागुन । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ७ महिना अर्थात् माघ मसान्तसम्म नेपालमा ४३ करोडभन्दा बढीको स्मार्ट वाच आयात भएको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको उक्त अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार साउनदेखि माघ महिनाभित्र विश्वका विभिन्न २२ देशबाट ४३ करोड १० लाख ६३ हजार रुपैयाँ बराबरको ३ लाख ८ हजार ७४१ थान स्मार्ट वाच आयात भएको छ ।

तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी राष्ट्र चीन र भारत सहित अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, न्यूजिल्याण्ड, यूएई र अमेरिका गरी विश्वका २२ देशबाट स्मार्टवाच आयात भएको देखिन्छ । यी बाहेक भियतनाम, साइप्रस, युक्रेन, फिलिपिन्स, कुवेत, मलेसिया, सिंगापुर, हङकङ, फ्रान्स, चेक रिपब्लिक तथा क्यानडाबाट पनि स्मार्ट वाच आयात भएको तथ्याङ्क छ ।

आँकडाअनुसार यो अवधिमा नेपालमा सबैभन्दा धेरै स्मार्टवाच चीनबाट आयात भएको पाइएको छ । यो अवधिमा चीनबाट ३३ करोड ४५ लाख ८७ हजार रुपैयाँ बराबरको २ लाख ९० हजार ८४० थान स्मार्टवाच भित्रिएको छ । यसैगरी भारतबाट २३ करोड ६९ लाख १० हजार बराबरको १३ हजार २६ थान स्मार्टवाच नेपाल आएको छ ।

यसैगरी भियतनामबाट ६ करोड ५२ लाख ७८ हजार बराबरको २ हजार ३२० थान, अमेरिकाबाट ९ लाख ४७ हजार बराबरको ६१ थान, यूएईबाट ४ लाख १५ हजार बराबरको २१ थान, दक्षिण कोरियाबाट ६ लाख ८८ हजार बराबरको ३४ थान र अस्ट्रेलियाबाट ५ लाख ९६ हजार बराबरको ५६ थान स्मार्ट वाच भित्रिएको तथ्याङ्कले देखाएको छ ।

यसबाहेक हङकङबाट ८ हजार बराबरको ५ थान, कुवेत र बेलायतबाट क्रमश: ८ हजार र १ लाख २६ हजार बराबरको समान ४-४ थान, थाइल्याण्डबाट १६ हजार बराबरको ३ थान, चेक रिपब्लिक न्यूजिल्याण्ड र मलेसियाबाट समान २-२ थान स्मार्ट वाच आएको देखिन्छ । यसरी स्मार्ट वाच आयातवापत् ७ महिनामा सरकारले १३ करोड ६७ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।