अनलाइन कारोबार बढ्दो, मोबाइल बैंकिङ प्रयोगकर्ता बढे

-



     सफल आवाज    
     चैत्र २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ चैत । नेपालमा अनलाइन मार्फत हुने कारोबार संख्या र रकम बढ्दै जाने प्रवृत्ति देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको माघ मसान्तसम्मको वर्तमान आर्थिक तथा वित्तीय विवरणमा मोबाइल बैंकिङका प्रयोगकर्ता तथा कारोबार रकम र संख्या बढ्दो क्रममा देखिएको हो ।

माघ महिनामा मोबाइल बैंकिङबाट १ खर्ब ७२ अर्ब ११ करोड ९० लाख रुपैयाँ बराबरको भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत वर्षको सोही अवधिमा मोबाइल बैंकिङामार्फत् ९२ अर्ब ७६ करोड ७० लाख रुपैयाँ बराबरको करोबार भएको थियो ।

तुलनात्मक रुपमा हेर्दा मोबाइल बैंकिङ मार्फत हुने कारोबार एक वर्षको अवधिमा ७९ अर्ब ३५ करोड १० लाख अर्थात ८५.५३ प्रतिशतले बढेको छ ।

यो अवधिमा कारोबार रकम मात्र नभई मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको संख्यामा पनि उल्लेख्य वृद्धि भएको पाइएको छ । एक वर्षअघि अर्थात् २०७८ को माघमा १ करोड ६४ लाख ७६ हजार ७०० मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका थिए । यो आँकडा २०७९ माघमा २ करोड ३६ हजार ५२४ पुगेका छन् । एक वर्षको अवधिमा मोबाइल बैंकिङका प्रयोगकर्ता ३५ लाख ५९ हजार ८२४ ले बढेका छन् ।