मलको अनुदान कटौती फिर्ता नभए किसानहरुले आन्दोलन गर्ने

-



     सफल आवाज    
     चैत्र २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ चैत । मलमा दिँदै आएको अनुदान कटौती फर्ता नलिए आन्दोलनमा उत्रिने कांग्रेस–एमालेसहितका किसान संगठनले चेतावनी दिएका छन् ।

बुधबार ३ किसान संगठनले पत्रकार सम्मेलन गरी मलमा दिदै आईरहेको अनुदान कटौटीको निर्णय तत्कालद फिर्ता नलिए देशभरका स्थानीयस्तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी धर्ना, जुलुस, चक्काजामलगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

निर्णय फिर्ता लिन सरकारलाई कांग्रेस निकट ‘नेपाल किसान महासंघ’, एमाले निकट ‘अखिल नेपाल किसान महासंघ’ र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट ‘नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन’ले आग्रह गरेका हुन् ।

आफ्ना माग तत्काल सम्बोधन गराउनका लागि दवाव स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउने आन्दोलनको कार्यक्रम घोषणा गरिएको सम्मेलनमा बताएका छन् ।

अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले किसानलाई राहत दिनका लागि सुरु गरिएको सो आन्दोलन माग पूरा नभएसम्म जारी रहने चेतावनी दिए ।

सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान गत फागुन २६ गते कटौती गर्ने निर्णय गरेको थियो । सरकारको निर्णय सच्याउन माग गर्दै देशभरका किसान हकहितसँग सम्बन्धित संघ, संगठनले आपत्ति जनाउँदै तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएका छन् ।

उनीहरुले मल कारखाना स्थापना गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।