विराटनगर भन्सारद्वारा सात अर्ब राजश्व सङ्कलन

-



     सफल आवाज    
     कार्तिक २२ गते २०७७ मा प्रकाशित



विराटनगर, २२ कात्तिक । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्ष २०७७÷७८ को तीन महिनाको अवधिमा कूल रु सात अर्ब ९३ करोड ३० लाख ४२ हजार राजश्व सङ्कलन गरेको छ । यस अवधिमा कार्यालयले रु १० अर्ब एक करोड १८ लाख छ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

सङ्कलित राजश्व लक्ष्यमा ७९ दशमलव २४ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । गएको वर्षमा यो अवधिमा कूल रु आठ अर्ब ९९ करोड ३८ लाख नौ हजार राजश्व सङ्कलन गरेको थियो । राजश्व सङ्कलनको हिसाबले हेर्दा गत वर्षभन्दा यस वर्ष सो अवधिमा रु एक अर्ब छ करोड सात लाख ५८ हजारले कम हो । चालु आर्थिक वर्षमा लक्ष्यको भन्दा रु दुई अर्ब सात करोड ८७ लाख ६४ हजारले कम हो ।

भन्सार कार्यालयका अनुसार सङ्कलित राजश्वमा भन्सार महसुल आयाततर्फ रु तीन अर्ब १७ करोड दुई लाख ९२ हजार, मूल्यअभिवृद्धि कर रु तीन अर्ब ८२ करोड ७८ लाख ३८ हजार, अन्तःशुल्क रु ४६ करोड ३७ लाख ८२ हजार, भन्सार महसुल निर्याततर्फ रु ३९ लाख ५३ हजार, कृषि सुधार शुल्क रु २७ करोड ६३ लाख, भन्सारको अन्य आय रु ९४ लाख ३६ हजार र पूर्वाधार कर रु १८ करोड १४ लाख ४० हजार छन् ।

कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको शुरुको महिनामा सय दशमलव १२ प्रतिशत प्रगति हासिल गरेको छ । भदौमा ७७ दशमलव ८९ प्रतिशत र असोज महिनामा ७० दशमलव २५ प्रतिशत प्रगति हासिल भएको जनाएको छ ।