नेप्सेमा दाेहाेराे अंककाे गिरावट, करिब ९० करोडको कारोबार

-



     सफल आवाज    
     चैत्र १६ गते २०७९ मा प्रकाशित




काठमाडौं, १६ चैत । प्रि ओपनमा सुधारको संकेत देखिए पनि बजार बन्द हुँदाको समयमा भने सेयर बजारले ओरालोको यात्रा तय गर्यो ।

साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा करेक्सन भएको छ । दुईदिन अघिबाट सुधारको संकेत देखिएको भएपनि सरकार बिस्तार र बजारमैत्री अर्थमन्त्री को हुने ? भन्ने अन्यौलकाबीच सेयर बजार पनि धरमराएको छ । यसले पुनः लगानीकर्तालाई पर्ख र हेरको अवश्थामा पुर्याएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा झरेको छ । नेप्सेमा ०.५७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.६६ अंकले घटेर ३५९.४८ विन्दुमा रहेको छ ।

यसदिन कुल २५४ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको २७ लाख ५० हजार ६५५ कित्ता सेयरको खरिदबिक्रीबाट ८९ करोड ९५ लाख ३२ हजार १३९ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

आज १३ वटा उपसमूहरुमध्ये दुइबाहेक बाँकी ११ वटामा राताे लागेकाे छ । उनीहरु सबैकाे सेयर घटेकाे छ । कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ५ करोड ५८ लाख १९९ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सुपर माई हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै आदर्श लघुवित्त वित्तीय संस्थाले गुमाएको छ । संस्थाको सेयरमूल्य ६.०७ प्रतिशतले बढेको छ ।