
जनकपुर, १८ चैत । प्रादेशिक र स्थानीय तहमा सहभागितामूलक सार्वजनिक वित्तीय व्यवस्थापनमा सहयोग गर्ने बृहत् लक्ष्यसहित नेपालमा सुरु भएको सार्वजनिक वित्तीय व्यवस्थापन परियोजना (पिएफएम) मधेस प्रदेशमा लागू भएको छ ।
जनकपुरधाममा आयोजित एक समारोहका बीच मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनको उपस्थितिमा प्रदेशका आठ जिल्लाका एक सय ३६ स्थानीय तहमा लागू हुने गरी पाँच वर्षीय परियोजना सुरु भएको जानकारी दिइएको हो ।
दुई करोड अमेरिकी डलर अर्थात करिब रु दुई अर्ब ६२ करोड बजेट खर्च गरिने यस परियोजनाअन्तर्गत सञ्चालन हुने क्रियाकलापले लुम्बिनी र मधेस प्रदेशमा तीनै तहका सरकारको सार्वजनिक वित्तीय व्यवस्थापनलाई सुदृढ बनाउँदै सार्वजनिक वित्त र सेवा प्रवाहको पारदर्शिता, समानता र वैधता बढाउन महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको युएसएआइडी नेपालकी प्रमुख सेपिडे केभान्शाडले बताइन।
“महिला तथा सीमान्तकृत वर्गका आवश्यकतालाई प्राथमिकतामा राखी जनतालाई प्रभावकारी सेवा प्रवाह गर्ने गरी बजेट निर्माण तथा क्रियाकलाप सञ्चालन हुनुपर्दछ”, केभान्शाडले भनिन्, “पालिकाहरूले आफ्ना बजेटमा महिलाका आवश्यकता, सीपमूलक तालिम, शिक्षा र स्वास्थ्यका कार्यक्रमको कार्यान्वयनमा आयोजनाले सघाउ पु¥याउने छ ।”
कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत थम्पसनले नेपालमा लोकतन्त्र, सङ्घीयता र वित्तीय सङ्घीयता कार्यान्वयनका लागि अमेरिकी सरकारले सधैँ सहयोग र सहकार्य गर्दै आएको भन्दै यो परियोजना पनि त्यसैको निरन्तरता भएको बताए। उनले नेता नागरिकप्रति उत्तरदायी भए मात्रै लोकतन्त्र फस्टाउने भएकाले सङ्घीयताको संस्थागत विकासका लागि सरकार र जनता मिलेर काम गर्नुपर्ने बताए।
“लोकतन्त्र तब फस्टाउँछ जब नेताहरू नागरिकप्रति उत्तरदायी हुन्छन् र नागरिकले पनि आफ्ना नेताहरूको ध्येय र सीमा बुझ्दछन् । पारदर्शिता र समुदायको पैसा सङ्कलन, लगानी र खर्च कसरी हुन्छ भन्ने बुझाइ लोकतान्त्रिक समाजको दुरुस्त सञ्चालनमा महत्त्वपूर्ण हुन्छ । त्यसैले नेपालमा लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित शासन र वित्तीय सुशासनका पक्षमा सहयोग एवं सहकार्य गर्न तयार रहेको राजदूत थम्पसनको भनाइ थियो ।
कार्यक्रममा मुख्यमन्त्री यादवले मधेस प्रदेशलाई समृद्ध बनाउने सरकारको लक्ष्यमा अमेरिकी सरकारले पनि सार्वजनिक वित्त व्यवस्थापन कार्यक्रममार्फत सहयोग गर्न लागेकोमा आभार व्यक्त गरे। उनले प्रदेश सरकार सुशासनका लागि प्रयत्नरत रहेको र यस आयोजनाबाट आर्थिक अनुशासन, पारदर्शिता प्रवर्द्धन तथा प्रदेशलाई समृद्ध बनाउन थप ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे।
त्यसैगरी सामाजिक विकासमन्त्री सुरिताकुमारी साहले सङ्घीयता कार्यान्वयनका लागि वित्तीय सङ्घीयता अपरिहार्य रहेको भन्दै सार्वजनिक वित्तीय व्यवस्थापनसम्बन्धी परियोजनाले त्यसमा ठोस सघाउ पु¥याउने धारणा राखिन्।
कार्यक्रममा परियोजना, त्यसका प्राथमिकताका विषयमा युएसएआइडी पिएफएम परियोजनाका उपल शिस्क र लक्ष्मी लिम्बू, परियोजना कार्यान्वयनको लागि आवश्यक प्रबन्ध र प्रदेश सरकारको पहलकदमीका विषयमा प्रदेश अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले आफ्नो प्रस्तुती राखेका थिए।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




