
धनकुटा, १९ चैत । निर्माणाधीन तमोर करिडोरले धनकुटाका आमनागरिकको दैनिकी र जीवनयापनमा परिवर्तन आउन थालेको छ । अहिले तराईबाट कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड भएर आएका सवारीसाधन राजमार्गको मूलघाटमा जोडिएर गएको करिडोरबाट पाँचथर र ताप्लेजुङसम्म जाने गरेका छन् ।
तराईबाट उक्त २ जिल्लासम्म जान करिडोरको बाटो छोटो पर्ने भएकाले यहाँ अहिले यात्रु तथा मालवाहक सवारीसाधनको चाप दैनिक बढ्ने क्रममा छ । यातायातको चाप बढेर चहलपहल बढेसँगै करिडोर आसपासका नागरिक होटल तथा व्यापारतर्फ उन्मुख हुन थालेका छन् ।
विसं २०७० मा यस स्थानमा सडक पुगेसँगै आफू कृषिबाट होटल व्यवसायमा लागेको चौबिसे गाउँपालिका–५ हङ्समोरङ बेंसीकी रुपादेवी दाहालले बताए । आफूसँग भएको ३ रोपनी जमिनबाट जीवनयापन असहज भइरहेका बेला करिडोरको व्यापारले आफ्ना तीन जनाको परिवारको जीवनयापनमा सहज भएको उनले सुनाए।
पहिला करिडोर लक्षित पसल तथा होटल कम भएकाले दैनिक ३ देखि ५ हजार कमाइ भए पनि हाल भने सडक छेउमा अनगिन्ति होटल सञ्चालनमा आएकाले व्यापारमा कमी आएको उनको भनाइ छ ।
त्यस्तै साँगुरीगढी गाउँपालिका–३ कुशेटारका ४६ वर्षीय खेम न्यौपानेले पनि गत वर्षबाट कृषि पेसा छाडेर सानो किराना पसल र होटल सञ्चालन गर्दै आएका छन्। गत वर्षदेखि ५ लाख रुपैयाँ लगानीमा व्यवसाय सुरु गरेको बताउने न्यौपानेले मासिक ४० हजार रपैयाँसम्म कमाइ हुने गरेको बताउँछन् ।
पहिला कृषि पेसाबाट जीवनयापन असहज भएपछि वैदेशिक रोजगारीमा गएकाका न्यौपानेले करिडोरमा चहलपहल बढेपछि व्यापारमा लागेको बताए । पहिला बजार नपाएर त्यसै खेरजाने यहाँका उत्पादन अहिले करिडोर बनेपछि यसै ठाउँमा बसेर स्थानीयले मनग्य आम्दानी गरिरहेको उनले जानकारी दिए ।
करिडोरका कारण चौबिसे वडा नं ५ भैँसेटारका २६ घर माझी परिवारको जीवनमा पनि सहजता आउन थालेको छ । पारम्परिकरुपमा माछा मार्ने र खेतीपाती गर्दै आएका सो क्षेत्रका माझी पसल गर्ने तथा सवारीसाधनमा काम गर्नेतर्फ अग्रसर रहेको स्थानीय राजन माझीले बताए ।
करिडोरमा दैनिक १ सयभन्दा बढी सवारीसाधन आवतजावत गर्ने भएकाले उनीहरुले तमोर नदीमा मारेको माछासमेत तत्काल र उचित मूल्यमा बिक्ने गरेको उनले अनुभव सुनाए । “पहिला मारेको माछा कहिले बिक्ला भनेर सुकाएर राख्नुपथ्र्यो”, उनले भने, “अहिले तुरुन्त बिक्छ, हामीलाई जीवन चलाउन धेरै राहत भएको छ ।”
२ वर्षअघिदेखि ४० हजार रुपैयाँमा सामान्य किराना पसल खोलेका माझीले हाल गाउँमा सो समुदायका ४ किराना सञ्चालन गरिरहेको जानकारी दिनुभयो । भारतको जोगवनीदेखि चीनको ओलाङ्चुङगोला जोड्ने २ सय ५४ किमी लामो उक्त करिडोरको मूलघाट–पाँचथर सडकखण्ड अहिले ग्राभेल भएर कालोपत्रको चरणमा छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




