
कञ्चनपुर, २२ चैत । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो ।
प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोतमा बदलेको छ । अस्पतालमा उत्पादन हुने फोहर समस्या नभएर आम्दानीको स्रोतको रुपमा प्रयोग गरिएको अस्पतालको फोहरमैला व्यवस्थापन केन्द्रमा कार्यरत कर्मचारी मीरा चौधरीले बताईन ।
“फोहर सङ्कलन गरेर राख्छौँ, सङ्क्रमण हुनसक्ने सामग्रीको निर्मलीकरण गर्ने गरेका छौँ”, उनले भनिन्, “फोहर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने सामग्री सबै छुट्याएर राखिन्छ ।” चौधरीका अनुसार कुहिने र नकुहिने तथा जोखिम र बिना जोखिमको सामग्री छुट्याएर बिक्री गर्ने गरिएको छ ।
“एकातर्फ अस्पतालको वातावरण स्वच्छ र सफा भएको छ, अर्कोतर्फ आम्दानी पनि भइरहेको छ”, उनले भनिन्, “फोहर बिक्री गरेर महिनामा १५÷२० हजार आम्दानी हुन्छ ।”
पुनः प्रयोग गर्न सकिने सामग्री बिक्री हुने गरेको छ । अहिले खरिद गर्ने धेरै नभएकाले सस्तोमै बिक्री गर्नु परिरहेको उनको भनाइ छ । फोहर व्यवस्थापन केन्द्रमा २ कर्मचारी कार्यरत छन् ।
“जोखिम र बिना जोखिमको फोहर छुट्याइन्छ, जोखिमयुक्त फोहरलाई निर्मलीकरण गरिन्छ”, गोमती बोहराले भनिन्, “कुहिने, नकुहिने, प्लास्टिक, कागज, सिरिन्ज सबै छुट्याएर अलगअलग राखिन्छ ।” सुरुमा सङ्कलन गरेको फोहर छुट्याउन समस्या भए पनि अहिले भने सहज भएको बोराले बताईन ।
अस्पतालमा १ महिनामा ७/८ क्विन्टल फोहर उत्पादन हुने गरेको छ । जसमध्येको पुनःप्रयोग गर्न मिल्ने आधा भन्दा बढी फोहर अस्पतालले बिक्री गर्ने गरेको छ । बिक्री नभएको सामग्री भीमदत्त नगरपालिकाको फोहर सङ्कलन गर्ने गाडीमा व्यवस्थापन गरेर पठाउने गरिएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




