बजेट लेखन टिमको नेतृत्वमा भुपाल बराल

-



     सफल आवाज    
     चैत्र २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट लेखन टिम तयार पारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सहसचिव भुपाल बराललाई अर्थमा ल्याएर बजेट लेखनको जिम्मेवारी दिएको हो।

बजेट लेख्ने टिमको नेतृत्व बरालले गर्ने भएका छन्। सहसचिव उत्तर खत्री र बाबुराम सुवेदी पनि बजेट लेखन टिममा रहने सम्भावना छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बराल, सुवेदी र खत्रीलाई अर्थमा भित्र्याएर बजेट लेखन प्रक्रियालाई तीव्रता दिएका हुन्।

टिमले आजैबाट विभागीय प्रमुखको जिम्मेवारी लिने र बजेट लेखन कार्यमा खटिने भएको छ। बिहीबार अर्थ मन्त्रालयमा ३ जना सहसचिव हाजिर भइसकेका छन्।

समितिले अर्थमन्त्री डा. महत, अर्थसचिव तोयम राय, राजस्व सचिव रामप्रसाद घिमिरेलगायतसँग समन्वय गरी बजेट लेखन कार्य अघि बढाउने भएका छन्।

बराल यसअघि पनि ७ महिना मन्त्रालयको बजेट महाशाखा प्रमुख भइसकेका छन् ।