उदयपुरको त्रियुगा नगरपालिकामा २ महिनादेखि आर्थिक कारोबार ठप्प

-



     सफल आवाज    
     चैत्र २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ चैत । उदयपुरको त्रियुगा नगरपालिकामा २ महिनादेखि आर्थिक कारोबार ठप्प भएको छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा लामोसमयदेखि आर्थिक कारोबारको काम ठप्प भएको हो ।

नगरपालिकाले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइ मन्त्रालयमा फिर्ता पठाएसँगै नगरपालिकाको आर्थिक कारोबार ठप्प हुन पुगेको छ ।

नगरपालिकाको उक्त निर्णयप्रति उदयपुरका विभिन्न राजनीतिक दलहरुले ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर दरबन्दी अनुसार सरुवा भएर आएका उप सचिवलाई नगरपालिकाले हाजिर नगराएको भन्दै यसमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेकका माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी, रास्वपा लगायत पार्टीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ,– ‘स्थानीय सरकारवाट नागरिकहरुले पाउनुपर्ने सेवा सुविधा प्रभावकारीरुपले समयमै पाउँनु पर्दछ तर यत्तिका लामो अवधिसम्म नगरको सेवा सुविधाबाट नागरिकहरु बञ्चित भई सास्ती खेप्न बाध्य भएकोमा हामी अत्यन्तै चिन्तित भएका छौं ।’

त्यस्तै नगरपालिकाको दैनिक प्रशासनिक कामकार्य समेत नराम्ररी प्रभावित भएको विज्ञप्तिमा भनिएको छ । ‘स्थानीय सरकारले नगरवासीलाई गुणस्तरीय सेवा प्रबाहको माध्यमबाट पारदर्शि जवाफदेही हुँदै सुशासनको प्रत्याभुति गराउन सदैव अग्रसर हुनु पर्दछ ।

यत्तिमात्र हैन स्थानीय सरकार नागरिकहरुको सवभन्दा नजिकको सरकार भएकाले नागरिकप्रति उत्तरदायि तथा जवाफदेही बन्नै पर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।