नेप्सेमा ९२.२२ अंकको बृद्धि, करिब २ अर्बको कारोबार

-



     सफल आवाज    
     चैत्र २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ चैत । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । नेप्सेमा देखिएको हरियाली वातावरणले लगानीकर्ताहरु उत्साही भएका छन् ।

यतिबेला सरकारले पनि आकार लिईसकेको र अर्थमन्त्री डा रामशरणले महत बजार सुधारको लागि लागिपरेको बताईरहँदा लगातार दोश्रो दिन पनि सेयर बजारले उकालोको यात्रा तय गर्दा अब यसको निरन्तरताको अपेक्षा गर्न थालिएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ९२.२२ अंकले बढेर १९६३.५५ विन्दुमा उक्लिएको छ । नेप्सेमा ४.९३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १८.२५ अंकले बढेर ३७३.७१ विन्दुमा रहेको छ ।

यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । उनीहरु सबैको सेयर बढेको छ । नेप्सेमा २६७ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ६१ लाख ७ हजार ४२५ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ९७ करोड ६० लाख ७६ हजार ७३२ रुपैयाँ ३४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ११ करोड ७१ लाख ३५ हजार ३४२ रुपैयाँ ५० पैसा बराबरको कारोबा। भएको छ ।

सबैभन्दा बढी सेयरमूल्य सिद्धार्थ इक्वीटि फण्डको बढेको छ । फण्डको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य घटेको छ । बैंकको सेयरमूल्य १.९९ अंकले घटेको छ ।