शेयर बजारमा नयाँ रेकर्डः जीबन बीमा ४७६ अंकले बढ्यो

-



     सफल आवाज    
     कार्तिक २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ कात्तिक । नेपालको शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । नेप्सेमा कारोबार हुने उपसमूहहरु मध्ये जीवन बीमा ४७६ दशमलव ३६ अंकले बढेर १० हजार २ सय ५१ दशमलव २२ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको हो ।

साताको तेस्रो दिन मंगलबार शेयर बजार उचालिएको छ । मंगलबार कारोबार शुरु भएसँगै उकालो लाग्न थालेको शेयर कारोबार नेप्से परिसूचक २५ दशमलव ९८ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव ७९ अंकमा पुगेर बन्द भएको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.५५ प्रतिशतले बढेको छ ।

योसँगै मंगलबार कारोबार रकमले समेत दशैं पछिको नयाँ रेकर्ड राखेको छ । दिनभर ३८ हजार ६ सय ३४ कारोबारबाट १९६ कम्पनीका ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २ सय ५६ रुपैयाँ पुगेको छ ।