नेपाल बिजनेस समिटमा ४ सय हाराहारी सहभागी हुने अपेक्षा

-



     सफल आवाज    
     वैशाख १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ बैशाख । सरकार र निजी क्षेत्रको सहकार्यमा नेपाल बिजनेस समिट २०२३ आयोजना हुने भएको छ । सरकार र निजी क्षेत्रबिचको दूरी कम गर्दै उद्यमी, व्यवसायी तथा बैंक वित्तीय क्षेत्रको मनोबल बढाउन शिखर सम्मेलन आयोजना गर्न लागिएकाे हाे ।

उक्त सम्मेलन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन), उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्त रुपमा आयोजनामा गर्न लागेका हुन् ।

शिखर सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवनकुमार गोल्यानले उद्योगी, व्यवसायी र बैंक तथा वित्तीय संस्थाले भोग्दै आएका समस्या समाधानका लागि पहल गर्न र वित्तीय संस्थाबारेको भ्रम निवारणका लागि बिजनेस समिट आयोजना गरेको बताएका छन ।

अहिलेकाे वित्तीय चुनौतीले उद्योगी व्यवसायी र बैंक वित्तीय संस्थाबीचको दूरी बढ्दै जाने सम्भावना रहेकोले अब सरकारले कृषि, पर्यटन, ऊर्जा, निर्यात क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा गाेल्यानले जोड दिएका थिए । सम्मेलनमा देशभरका करिब ४ सय जनाको सहभागी हुने अपेक्षा गरिएको छ ।