रसुवागढी भन्सारबाट रु एक अर्ब राजश्व संकलन

-



     सफल आवाज    
     कार्तिक २६ गते २०७७ मा प्रकाशित



रसुवा, २६ कात्तिक । नेपालको उत्तरी नाका रसुवागढी टिमुरे भन्सारबाट रू एक अर्ब राजश्व संकलन भएकाे कार्यालयले जानकारी दिएकाे छ । चीनबाट रसुवागढी नाका भएर आयात हुने सामग्रीको परिमाण बढेसंँगै राजश्व संकलनमा सुधार आएकाे हाे । कोभिड–१९ काे महामारीकाे कारण बन्द भएकाे नाका रसुवागढी नाका गएकाे असारदेखि पुनः सञ्चालनमा संचालनमा ल्याइएकाे थियाे ।

चीनबाट आयात हुने सामग्रीको परिमाण पनि बढ्न थालेको रसुवा भन्सार कार्यालय टिमुरेले जानकारी दिएकाे छ । आयातित सामानको परिमाण बढेसँंगै चालु आर्थिक वर्षको गत साउनदेखि हालसम्म भन्सार शुल्कवापत करिब रु एक अर्ब राजश्व संकलन भएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए । आयात भएका सामग्रीमा जुत्ता, चप्पल, तयारी पोशाक, शिशुका खेलौना, विद्युत्का उपकरणलगायत रहेका छन् ।

चिनियाँ व्यवसायीले दैनिक पाँच वटा ठूला ट्रेलर मार्फत मितेरी पुलसम्म सामग्री ल्याउने गरेका छन् । दैनिक स्वास्थ्य परीक्षण एवं सामाजिक दूरीको पालना गराई नेपाली कन्टेनरमा सामान राख्न र रसुवागढीदेखि टिमुरेमा रहेको भन्सार हातासम्म कन्टेनर ल्याउन मजदूर तथा चालकको व्यवस्था गरिएको छ । सामान राख्नका लागि ३३ मजदूर र कन्टेनर सञ्चालन गर्न १७ चालक रहेका छन् ।

केरूङदेखि रसुवागढीसम्म सामान ढुवानी गर्ने चिनियाँ भन्सार प्रतिनिधिले चर्काे भाडा असुल्ने गरेका कारण व्यवसायी मर्कामा परेको गुनासो बढेको छ । रसुवागढी नाका पुनःसञ्चालनमा आएसंँगै चिनियाँ ढुवानीकर्ताले कायम गरेको केरूङदेखि रसुवागढीसम्मको भाडादर पछिल्लो समयमा भारी मात्राले वृद्धि गरेको हुँदा पुनरवलोकनका लागि पहल गरिदिन सम्बन्धित निकायसमक्ष आग्रह गरिएको बताइएकाे छ ।