सर्वोच्चको आदेश: नेकपा उपाध्यक्ष गौतमलाई मार्गप्रशस्त

-



     सफल आवाज    
     कार्तिक २६ गते २०७७ मा प्रकाशित



काठमाडौं, २६ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रूपमा काम गर्न सर्वोेच्च अदालतले बाटो खोलिदिएको छ । यस्तै, गौतमलाई अदालतले थप संवैधानिक जिम्मेवारी प्राप्त गर्ने मार्गप्रशस्त गरेको छ । राष्ट्रिय सभामा गौतमको मनोनयन अवैधानिक रहेको र उनलाई थप संवैधानिक जिम्मेवारी नदिन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चको संवैधानिक इजलासले रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गरिरहनु नपर्ने ठहर गरेको हो ।

सो रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ भएको थियो । गत भदौ २९ मा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रिय सभा सदस्यमा गौतमलाई मनोनयन गरेकी थिइन् ।

यसैबीच, सर्वोच्चको आदेशपछि गौतमले आफ्नो नियुक्ति कुनै पद र प्रतिष्ठासँग नरहेको स्पष्ट पारेका छन् । उनले यो विषय कुनै पद र प्रतिष्ठासँग नगाँसिएको र पार्टीभित्र विधि र पद्दति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्दतिका कुरा विषयान्तर गर्न केही व्यक्तिहरू क्रियाशील भएको टिप्पणी गरे । उनले आफू सधैँ संविधानको सर्वोेच्चता तथा विधि र पद्दति पक्षमा उभिइरहने दृढता व्यक्त गरेका छन् ।