देशकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृह पोखरामा बन्दै

-



     सफल आवाज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित



पोखरा, २७ कात्तिक । नेपाल आयल निगमले मुलुककै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृह पोखराको गगनगौंडामा निर्माण सुरु गरेको छ । ७७ करोड रुपैयाँ लागतमा आगामी २ वर्षभित्र निर्माण सम्पन्न हुने सो परियोजनाको बिहीबार एक समारोहबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गरे ।

कार्यक्रममा मन्त्री भट्टले काेरोना महामारीले कमजोर बनाएको अवस्थामा अर्थतन्त्र सुदृढ बनाउन सरकार कटिबद्ध रहेको बताए । उनले आगामी दिनमा पेट्रोलियम पदार्थ आपूर्तिमा कुनै कमजोरी हुन नदिने बताए । नाकाबन्दी, विनासकारी भूकम्प लगायत विषम परिस्थितिको बेला नेपाली जनताले भोग्नुपरेको समस्या मध्यनजर राख्दै सरकारले यो अभियान अघि सारेको मन्त्री भट्टले प्रष्ट पारे ।

मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले असामान्य अवस्थामा पनि मुलुकमा पेट्रोलियम पदार्थ आपूर्तिको अभाव हुन नदिने बताए । पोखरामा डीपो निर्माणपछि गण्डकी हवको रुपमा विकास हुने र काठमाडौंमा अभाव देखियो भने पनि त्यसको ब्याकअपको रुपमा आपूर्ति गर्न सकिने व्यवस्था मिलाइने बताए ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले हरेक प्रदेशमा कम्तीमा ९० दिनका लागि इन्धन भण्डारण क्षमताको डीपो निर्माण गर्ने निगमको घोषणा नीतिअनुरुप पहिलो परियोजनारुपमा गण्डकी प्रादेशिक डीपोको क्षमता अभिवृद्धि सुरु गरिएको बताए । उक्त भण्डारण गृह निर्माण भएपछि कम्तीमा ४० देखि ४५ दिनको इन्धनको माग धान्न सक्नेछ । पोखरा २९ र ३० अन्तर्गत गगनगौंडामा रहेको सो डीपोको भण्डारण क्षमता बिस्तारले प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोसेढुंगा सावित हुने आयामको विश्वास छ ।

हाल डीपो रहेको कुल २७ रोपनी जग्गालाई नै व्यवस्थापन गरेर निगमले पहिलो चरणमा ५० लाख लिटर क्षमताका दुई छुट्टाछुट्टै डीजल भण्डारण ट्याङ्क निर्माण गर्नेछ । उक्त भण्डारण गृह निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । पहिलोपटक नेपाली ठेकेदारसहित भारतीय निर्माण कम्पनीले परियोजना निर्माण गर्दैछ । आयोजनाको ठेक्का समानान्तर–रेलिगेयर–भारत ट्याङ्क्स जेभीले पाएको आयोजना प्रमुख मनोजकुमार ठाकुरले जानकारी दिए ।

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि तोकिएको समयअगावै आयोजना सम्पन्न हुने बताइएको छ । निगमको गण्डकी प्रादेशिक कार्यालयले गण्डकी प्रदेशका कास्की, पर्वत, स्याङ्जा, बागलुङ, म्याग्दी, मुस्ताङ र तनहुँका केही भागमा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ । प्रादेशिक डिपोबाट हाल दैनिक २४० किलोलिटर डिजेल र १२० किलोलिटर पेट्रोल बिक्री हुँदै आएको छ ।

यस्तै एक सातामा २० किलोलिटर मट्तिेल बिक्री हुँदै आएको छ । गण्डकी प्रादेशिक डिपोको हालको भण्डारण क्षमता डिजेल २२८० किलोलिटर, पेट्रोल ३५० किलोलिटर र मट्टितेल ७६० किलोलिटर रहेको छ । निगमसँग हाल मुलुकभर डिजेलको माग आठ दिन र पेट्रोलको माग पाँच दिन धान्ने क्षमता छ ।

निगमको इतिहासमा झण्डै दुई दशकपछि भण्डारण क्षमता विस्तार हुन लागेको हो । गण्डकी प्रादेशिक कार्यालयमा भण्डारण क्षमता निर्माणका लागि पर्याप्त जग्गा भएका कारण पनि पहिलो चरणमा पोखरामा भण्डारण गृह बनाउन लागिएको हो । भण्डारण गृह निर्माण भएसँगै समग्र गण्डकी प्रदेशको वितरण चक्रमा ठूलो प्रभाव पर्ने प्रवक्ता इ. वीनितमणि उपाध्यायको भनाइ छ ।