सहुलियतपूर्ण कर्जाका लागि बैंक र भीमदत्त नगरबीच सम्झौता

-



     सफल आवाज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित



कञ्चनपुर, २८ कात्तिक । उद्यम गर्न चाहने नगरवासीलाई सघाउ पुर्‍याउने उद्देश्यका साथ भीमदत्त नगरपालिकाले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी सम्झौता गरेको छ । नगरपालिकाले मेयर उद्यमशिलता विकास कार्यक्रमअन्र्तगत नेपाल बैंक लिमिटेडसँग सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी सम्झौता गरेको हो ।

नगरपालिका नगर प्रमुख सुरेन्द्रबहादुर बिष्ट र नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाका प्रबन्धक कमलबहादुर चन्दले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे। नगरपालिकाको सातौं नगरसभाबाट १ सय जनालाई उद्यमी व्यवसायी बनाउने नीति तथा कार्यक्रम पारित गरिए बमोजिम उद्यम व्यवसाय गर्न चाहने नगरवासीका लागि बैंकसँग ब्याज अनुदान दिएर ऋण उपलब्ध गराउन सम्झौता गरी कार्यक्रम अघि बढाएको हो ।

कार्यक्रममा कोरोना सङ्क्रमणका कारण भारतसहित तेस्रो देशमा रोजगरी गुमाएका र रोजगारी पाउन नसकेका बासिन्दालाई प्राथमिकता दिइएको छ । उद्यम, व्यवसाय गर्न चाहने बासिन्दाले आफ्नो व्यावसायिक योजनाको आधारमा नगरपालिकाको सिफारिसमा बैंकबाट ऋण उपलब्ध पाउन सक्ने भएका छन् । बैंकबाट लिएको ऋणको ब्याज नगरपालिकाले तिरी दिने सम्झौता उल्लेख गरिएको छ ।

नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना सङ्क्रमणका कारण भारतसहित तेस्रो मुलुकबाट घर फर्किएका रोजगार गुमाएका र रोजागरी पाउन नसकेका बासिन्दालाई उत्पादनसित जोड्नका लागि कार्यक्रम सञ्चालन गरिएको बताए।

नगरपालिकाले भारतसहित तेस्रो मुलुकबाट फर्केका बासिन्दालाई सहयोग गर्न यस अघि नै क्वारेन्टिनबाट काम गर्न चाहने व्यवसायका लागि लगत सङ्कलन गरी सकेको छ । नगर क्षेत्रका ११ हजारभन्दा बढीको फाराम सङ्कलन गरीएको छ । नगर प्रमुख विष्टले कृषि र पशुपालनलाई व्यावसायिकरण नगरी आर्थिक समृद्धि असम्भव हुने उल्लेख गर्दै आर्थिक क्रान्तिका लागि उत्पादनमा जोड दिइएको बताए।

भीमदत्त नगरपालिका र बैंकबीच कृषि, गैर कृषि, पशु पालन र जडीबुटीलगायत व्यवसायमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । व्यवसायीले बिना धितो बैंकबाट ऋण लिएपछि ब्याज तिर्नु पर्ने छैन । भीमदत्त नगरपालिकाले ऋणीको ब्याज तिरी दिनेछ । भीमदत्त नगरपालिकाले उद्यम व्यवसाय गर्न चाहने व्यक्तिलाई कर्जा उपलब्ध गराउन अघि बैंकमा कोष स्थापना गर्ने सम्झौता गरिएको छ ।