मङ्सिरमा भाइटीका लगाउनुहुन्न भन्ने कुरा हल्ला मात्र: समिति

-



     सफल आवाज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित



काठमाडौं, २८ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष मङ्सिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने गरेकाे पाइएकाेले त्यस्ताे हल्लाका पछि नलाग्न आग्रह गरेकाे छ । हल्लामा कुनै प्रकारकाे शास्त्रीय आधार छैन, सिमितले भनेकाे छ ।

समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले आज विज्ञप्ति जारी गरी मङ्सिर १५ गतेसम्म चन्द्रमास अनुसार कार्तिक शुक्ल पक्ष नै रहेकाले ढुक्क भएर तिहारको टीका लगाउन आह्वान गरेका छन् । वैदिक सनातन धर्मावलम्बीले चान्द्रमास अनुसार नै चाडपर्व मनाउने गर्छन् । मङ्सिर १५ गतेसम्म कार्तिक शुक्ल पक्ष भएकैले विवाहको लग्न १६ गतेपछि मात्र दिइएको उनले जानकारी दिए ।

याे वर्ष असाेजमा अधिकमास (मलमास) परेकाले चाडपर्व पछि सर्दा भाइटीका मङ्सिर १ गते परेको हो । भाइटीकामा दाजुभाइले दिदीबहिनीबाट र दिदीबहिनीले दाजुभाइबाट परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउछन् । एकापसमा गच्छे अनुसार मीठा परिकार, उपहार एवं दक्षिणा दिएर आपसी सद्भाव वृद्धि गर्ने पर्व भएकाले त्यसै अनुरुप मनाउन समितिले आह्वान गरेको छ ।