शिक्षा, विज्ञान तथा प्रविधिमा २ खर्ब बजेट, हिमालको पानीलाई ब्राण्डिङ गरिने

-



     सफल आवाज    
     जेठ १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ जेठ । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि रु एक खर्ब ९७ अर्ब बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ रु एक खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको बताए।

चालु आवमा शिक्षातर्फ सङ्घमा रु ७० अर्ब पाँच करोड बजेट विनियोजन गरिएको थियो । त्यस्तै प्रदेशमा रु पाँच अर्ब ३२ करोड र स्थानीय तहमा रु एक खर्ब २१ अर्ब एक करोड बजेट हस्तान्तरण गरिएको थियो । बजेटमा सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०÷८१ को बजेट तयार पारेको उल्लेख छ ।

हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

नेपाल सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी ‘वाटर फ्रम द हिमालय’ कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै हिमालको पानीलाई ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने बताए। उनले नेपाललाई हिमालको पानी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने राम्रो अवसर रहेकोसमेत बताए।

इ–कमर्सबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानून व्यवस्था गरिने

सरकारले इ–कमर्सको माध्यमबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानून व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै इ–कमर्सको माध्यमबाट हुने नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानून व्यवस्था गरिने र विद्युतीय हाटबजारमार्फत लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको बजारीकरण गरिने बताए।